मायादेवी अनलाइन, बाणगंगा ।
इन्सेक संघ आवद्ध मानव अधिकार समूहले कपिलवस्तु नगरपालिका वडा नं. ६ स्थित तिलौराकोट स्वास्थ्य चौकीको अनुगमन गरेको छ ।
मानव अधिकार समूह कपिलवस्तु नगरपालिकाका अध्यक्ष पुष्पा रेग्मीको संयोजकत्वमा इन्सेक सहजकर्ता/प्रतिनिधि तथा समूहको टोलीले तिलौराकोट स्वास्थ्य चौकीको समस्याहरु पहिचान गर्नका लागि माघ २७ गते स्थलगत अनुगमन गरेको हो ।
अनुगमनका क्रममा टोलीले ०७५ साल माघ देखि सूचारु गरिएको बर्थिङ सेन्टर संचालन गरिएको तिलौराकोट स्वास्थ्य चौकीमा प्रशव कक्ष तथा सुत्केरी पश्चात सुत्केरीलाई राख्ने भौतिक पूर्वाधारको समस्या, सुत्केरीहरुका लागि कम्वर्ड शौचालयको व्यवस्था नभएको, बर्थिङ सेन्टरमा एम्बुलेन्सको अभाव, भिडियो एक्सरे, गर्भवती जाँच गर्ने छुट्टै कोठाको अभाव, शुद्ध पिउने पानीको अभाव, नागरिक वडापत्र नभएको अनुगमनका क्रममा पाइएको अनुगमन टोलीले जनाएको छ ।
स्वास्थ्य चौकीका इन्चार्ज सुवाशचन्द्र यादवले यस स्वास्थ्य चौकीको बर्थिङ सेन्टरका लागि जनशक्तिको अभाव भएको बताए । यहाँ ल्याव परिक्षणका लागि भौतिक संरचना सहितको ल्यावको आवश्कता छ ।
जनस्वास्थ्य निरीक्षक गोरख नाथ चौधरीले नेपाल सरकारले तोके अनुसारको औषधिहरु भने स्वास्थ्य चौकी तथा बर्थिङ सेन्टरमा पूर्ण रुपमा रहेको बताए ।
‘बर्थिङ सेन्टर संचालन भएको यस स्वास्थ्य चौकीमा बार्षिक २८ जना महिलाहरुले सुत्केरी गराउन आउँछन् तर सुत्केरी पश्चात दिईने प्रोत्साहन भत्ता नगरपालिका देखि ढिला आउने भए पनि सुत्केरीलाई तत्काल दिने व्यवस्था मिलाइएको छ’, सिनियर अनमी रिता रानाले भनिन् ।
‘मासिक रुपमा एक देखि दुई वटा डेलिभरी हुन्छन्, बेड एउटा छ । सुत्केरी गराउन आउनेको संख्या न्यून भए पनि बर्थिङ सेन्टरका लागि जनशक्ति कमी छ, सुत्केरी गराउन, गर्भवती जाँचगर्न भौतिक पूर्वाधारको समस्या छ’, रानाले थपिन् ।
मानव अधिकार समूहका अध्यक्ष पुष्पा रेग्मीले समूहले शिक्षा, स्वास्थ्य, लैंगिक विभेद र वातावरणको अधिकारको बिषयमा स्थलगत अनुगमन गर्दा देखिएका समस्याहरुको पहिचान गरी सम्बन्धित निकायलाई ध्यानाकषर्ण गराउनुका साथै अभियानलाई निरन्तरता दिने बताइन् ।
स्थलगत अनुगमन गर्दा देखिएका समस्याहरुको पहिचान गरी नगर प्रमुखलाई ध्यानाकर्षण गराउने अध्यक्ष रेग्मीले बताइन् ।
स्थलगत अनुगमनमा इन्सेक प्रतिनिधि पार्वती आचार्य, समूहका उपाध्यक्ष नूर मोहम्मद मुसलमान, सचिव कमलेश त्रिपाठी, कोषाध्यक्ष सरिता कोरी, सदस्य संगिता चौरासिया लगायतको अनुगमनमा उपस्थित रहेको समूहका सचिव कमलेश त्रिपाठीले जानकारी दिए ।
प्रतिक्रिया