मायादेवी अनलाइन, बाणगंगा ।
माघ १७ गतेदेखि जारी १३ औं कपिलवस्तु महोत्सवमा शनिबार सर्वाधिक दर्शकले अवलोकन गरेका छन् ।
महोत्सवको अन्तिम समय र शनिबार सार्वजनिक विदा हुने भएकाले शनिबार महोत्सव अवधिमै सर्वाधिक दर्शकले अवलोकन गरेका हुन् ।
महोत्सव आयोजक संस्था कपिलवस्तु उद्योग बाणिज्य संघका अध्यक्ष डोलकराम घिमिरेले शनिबार आजसम्मकै सबैभन्दा बढी दर्शकले महोत्सव अवलोकन गरको बताए ।
शनिबार झण्डै बीस हजार दर्शकले महोत्सव हेरेको र ६ लाख बढीको आर्थिक कारोबार भएको आयोजकको दाबी छ ।
आइतबारसम्म चल्ने महोत्सवमा शनिबार आधुनिक तथा गजल गायक थानेश्वर गौतम, लोक तथा दोहोरी गायक प्रकाश दुधराज, दोहोरी गायिका टिका सानु लगायतको प्रस्तुति रहेको थियो ।
महोत्सवमा सन्चालन भएको डान्स आइडल र सिङ्गिङ आइडलका प्रतिस्पर्धीले समेत शनिबार बेजोड प्रस्तुति दिएका थिए ।
आइतबार दुवै तर्फको आइडल विजेता घोषणा गरिने छ । शनिबार दर्शकले दिएको भोटको आधारले उपाधि दिइने आयोजकले जनाएको छ ।
महोत्सवको आज समापनसत्र समेत हुने छ । समापन सत्रसहित दुवै आइडलको घोषणा र राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति रहने छ ।
समापनमा पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता शंकर भण्डारी आउने जनाइएको छ ।
प्रतिक्रिया