मायादेवी अनलाइन, बाणगंगा ।
कपिलवस्तु बाणगंगा नगरपालिकाका नगर प्रमुख चक्रपाणी अर्यालले जातीय छुवाछुत जस्ता सामाजिक विभेद विरुद्धको अन्त्य गर्न अझै पनि समाजमा कठिनाई रहेको बताएका छन् ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय लुम्बिनी प्रदेशको आयोजना र बाणगंगा नगरपालिकाले समन्वय गरेको जातीय छुवाछुत जस्ता सामाजिक विभेद विरुद्धको एक दिने अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख अर्यालले यस्तो बताएका हुन् ।
जातीय तथा छुवाछुतको विभेदलाई न्यूनिकरणका लागि अब नयाँपुस्ता जागरुक हुन जरुरी रहेको उनले तर्क गरे ।
नगरपालिकामा जातिय विभेद गरेको थाहा पाएमा कानुनी कारबाही हुने र यस्ता घटनाहरु हुन नदिनका लागि नगरले विभिन्न अभियानहरु संचानल गर्ने प्रतिवद्धता जनाए । सबैको साझा प्रयासले मात्र जातीय विभेदको अन्त्य हुने भन्दै सबैलाई सामाजिक कुरितीको अन्त्यका लागि उनले आह्वान समेत गरे ।
नगर उपप्रमुख रिता कुमारी चौधरीले न्यायीक समितीमा कुनै पनि छुवाछुतको उजुरी नआएको बताइन् । नगर भित्र सबै जातजाती, धार्मिक समुदायको बसोवास भएको हुँदा छुवाछुतको बिषयमा सबैले बुझ्न आवश्यक भएको उनले जनाइन् ।
पालिका र वडाहरुमा भएका छुवाछुत र विभेदका घटनालाई न्यूनिकरण गर्न नगर प्रतिवद्ध रहेको उनले जनाइन् । नगरले विभिन्न हिंसाहरुलाई न्यूनिकरण गर्न र समाज रुपान्तरणका लागि विभिन्न सीपमुलक कार्यक्रमहरु संचालन गर्दै आएको नगर उपप्रमुख थारुले जानकारी दिइन् ।
प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसालले आर्थिक, समाजिक, शुसासन र सामाजिक रुपान्तरणका बिषयहरुमा पछाडी परे समाज रुपान्तरण हुन नसक्ने धारणा राखे । जातीय छुवाछुत जस्ता सामाजिक विभेद विरुद्धको न्यूनिकरणका लागि समुदायलाई प्राथमिकतामा राखेर अभियानहरु संचालन गर्ने प्रतिवद्धता जनाए ।
वडा नं. ९ का वडाध्यक्ष कमल पौडेलले पछिल्लो समयमा समाजमा केही परिवर्तन आएको बताए । अझैपनि ब्राह्मण समुदायमा दलित समुदायलाई अलग्लै राख्ने प्रचलन रहेको हुँदा यसलाई परिवर्तन गर्न वडा लागि पर्ने प्रतिवद्धता जनाए ।
नगर कार्यपालिका सदस्य शारदा परियारले दलित र पछाडी परेका समुदायलाई उकास्नु राज्यको दायित्व भएको बताउँदै अवसर पाए महिलाहरु पनि अगाडी बढ्न सक्ने बताइन् ।
प्रतिक्रिया