१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

आईसीसी महिला ट्वान्टी २० विश्वकपमा श्रीलंकाको रोमाञ्चक जित



काठमाडौं ।
आईसीसी महिला ट्वान्टी-२० विश्वकपमा श्रीलंकाले विजयी सुरुआत गरेको छ । श्रीलंकाले शुक्रबार राति सम्पन्न उद्घाटन खेलमा घरेलु टोलीमाथि तीन रनको रोमाञ्चक जित निकाल्दै सुखद सुरुआत गर्यो ।

दक्षिण अफ्रिकाको केप टाउनस्थित न्युल्यान्ड क्रिकेट मैदानमा श्रीलंकाले प्रस्तुत गरेको १३० रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १२६ रनमात्र बनाउन सक्यो ।

दक्षिण अफ्रिकाकी कप्तान सुने लुसले सर्वाधिक २८ रन जोडिन् । लोरा उल्भड्टले १८, सिनालो जाफ्ताले १५, ताजमिन ब्रिट्सले १२, मारिजेन कापले ११ र कोले ट्रियोनले १० रन जोडे ।

श्रीलंकाका लागि इनोका रणवीराले तीन विकेट लिइन् । यस्तै, सुगन्दिका कुमारी र ओसदी रणसिंगेले समान दुई विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको श्रीलंकाले निर्धारित २० ओभरमा चार विकेट गुमाएर १२९ रनको योगफल तयार पारेको थियो ।

श्रीलंकाकी कप्तान चमारी अथापथ्युले सर्वाधिक ६८ रनको योगदान दिइन् । उनले ५० बलमा १२ चौका प्रहार गरिन् । यस्तै, भिस्मी गुणारत्नेले ३५ रन जोडिन् ।

दक्षिण अफ्रिकाका लागि सबनिम स्माइल, मारिजेन काप र नादिनी डी क्लार्कले समान एक विकेट लिए ।

प्रकाशित मिति : २८ माघ २०७९ शनिबार ००:००  २ : ३९ बजे