१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

हात्तिपाइले रोग विरुद्धको औषधि एक सय प्रतिशत खुवाऔः मेयर श्रेष्ठ



मायादेवी अनलाइन, बाणगंगा ।
कपिलवस्तु बुद्धभूमि नगरपालिकाका नगर प्रमुख केशव कुमार श्रेष्ठले हात्तिपाइले रोग विरुद्धको औषधि एक सय प्रतिशत खुवाउनुपर्नेमा जोड दिनुभएको छ ।

फाल्गुण ११ गते देखि जिल्लामा शुभारम्भ हुन थालेको आम औषधि वितरण अभियानलाई नगरपालिकामा पूर्ण रुपमा सफल पार्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

हात्तिपाइले रोग विरुद्धको आम औषधि सेवन कार्यक्रमको नगर स्तरीय कार्यक्रममा बोल्दै उहाँले स्वास्थ्य र शिक्षाको विकास बिना सोचेजस्तो समृद्धि हासिल गर्न नसकिने भन्दै हात्तिपाइले रोगलाई सधैका लागि उन्मूलन गर्नका लागि सबैको साथ र सहयोग रहनुपर्नेमा जोड दिनुभयो ।

जिल्लामा १५ औ चरणको अभियान चलेपनि यसले सोचेजस्तो सफलता हासिल गर्न नसकेको भन्दै यसमा सबै चिन्तित हुनुपर्ने बताउनुभयो । यो रोगको दीर्घकालिन समाधानका लागि औषधि सेवन नै प्रमुख रहेको उहाँले उल्लेख गर्नुभयो ।

छिमेकी जिल्ला रुपन्देही, नवलपरासीमा उन्मूलन भएको हात्तिपाइले रोग कपिलवस्तुमा किन उन्मूलन हुन सकेन भन्दै अब कपिलवस्तुबाट पनि यसको अन्त्यका लागि आम औषधि सेवनलाई प्रभावकारी पार्नुपर्ने मेयर श्रेष्ठले बताउनुभयो ।

हात्तिपाइले रोग विरुद्धको औषधि खुवाउने अभियानलाई नगरमा सफलतापूर्वक सम्पन्न गराउन आफू लाग्ने उहाँले प्रतिवद्धता जनाउनुभयो ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत रमेश गौतमले हात्तिपाइले रोग विरुद्धको औषधि खुवाउने अभियानमा नगरका जनप्रतिनिधि, स्वास्थ्यकर्मी, पत्रकार, सामाजिक अगुवा सबैलाई परिचालन गर्ने बताउनुभयो ।

नगरका स्वास्थ्य शाखाका अधिकृत गोकर्ण अर्यालले हात्तिपाइले रोग विरुद्धको औषधि वितरणलाई प्रभावकारी बनाउने आफ्नो योजना सुनाउनुभएको थियो ।

प्रकाशित मिति : २८ माघ २०७९ शनिबार ००:००  ७ : १९ बजे