१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

विमानस्थलको सेवामा क्रमिक सुधार भइरहेको छ : पर्यटनमन्त्री किराँती



काठमाण्डौ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सेवा क्रमिकरूपमा सुधार भएको बताउनुभएको छ ।

अन्तर्राष्ट्रिय विमानस्थलको आज तेस्रोपटक अनुगमन गर्दै मन्त्री किराँतीले विमानस्थलको तुलनात्मक सुधारले आफूलाई थोरै भए पनि खुसी मिलेको बताउनुभयो । उहाँले भन्नुभयो, यो नै पूर्ण सुधार होइन । तर क्रमिकरुपमा सुधार भइरहेको छ । यसबाट म आंशिक सन्तुष्ट छु । २४सै घण्टा खटेर विमानस्थललाई सुन्दर बनाउने ब्यूटीसियनलाई विशेष धन्यवाद छ ।

बिहानै पुग्नुभएका मन्त्री किराँतीले विमानस्थलको सबै सेवाको सुधारबारे स्थलगत अनुगमन गर्नुभएको थियो । विमानस्थलको शौचालयमा म्युजिक जडान गरिनु, गुनासोका लागि क्यूआर कोड सञ्चालनमा ल्याइनुले सेवाग्राहीलाई थोरबहुत सहज बनाउने अपेक्षा उहाँको छ । हरेक ३० मिनेटमा शौचालय अनुगमनको व्यवस्थासमेत गरिएको छ । सेवाग्राहीको सहजता नै आफ्नो पहिलो प्राथमिकता रहेको उल्लेख गर्दै मन्त्री किराँतीले यो सुधारले आफूलाई नभएर सेवाग्राहीलाई सन्तुष्ट बनाउने विश्वास व्यक्त गर्नुभयो ।

ुतपाईँहरूको मेहनत र परिश्रमले सेवाग्राहीलाई सहज वातावरण बनाउनेदेखि हाम्रो विमानस्थलप्रति उहाँहरूलाई अपनत्व पनि महसुस गराउनेछु, उहाँले भन्नुभयो ।

विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार मन्त्री किराँतीले पाँच सय ट्रलीको मूल्याङ्कन गरी आर्थिक प्रस्तावनासमेत तयार गर्न निर्देशन दिनुभएको छ । सरसफाइका साथै स्तरीय यात्रुसेवा सुविधा दिन विमानस्थलका पदाधिकारीलाई उहाँले आग्रह गर्नुभयो ।

मन्त्री किराँतीले तुलनात्मकरूपमा सुधार भएकामा विमानस्थलको टोलीलाई धन्यवाद दिनुहुँदै बाँकी काम चाँडो टुङ्ग्याउन आग्रह गर्नुभएको प्रवक्ता सिटौलाले जानकारी दिनुभयो।

प्रकाशित मिति : २६ माघ २०७९ बिहिबार ००:००  १ : ०४ बजे