१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

टर्की भूकम्प : ज्यान गुमाउनेको सङ्ख्या ५ सय जना नाघ्यो



एजेन्सी ।

टर्कीमा गएको शक्तिशाली भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या पाँच सय जना नाघेको छ । आज सोमवार बिहान टर्कीको दक्षिणी क्षेत्रमा गएको ७ दशमलव ८ रेक्टर स्केलको भूकम्पका कारण टर्की र सिरियामा ज्यान गुमाउनेको सङ्ख्या पाँच सय जना नाघेको बीबीसीले जनाएको छ ।

अहिलेसम्म टर्कीमा दुई सय ८४ र सिरियामा दुई सय ३७ जना गरी पाँच सय ११ जनाको ज्यान गएको पुष्टि भएको अमेरिकी सञ्चारमाध्यम सीएनएनले जनाएको छ । भूकम्पले भवनलगायतका संरचना भत्किँदा टर्कीमा मात्रै दुई हजार तीन सय जनाभन्दा बढी घाइते भएका छन् ।

भूकम्पले भत्किएका भवनमा खोजी र उद्धार कार्य चलिरहेकोले ज्यान गुमाउने र घाइतेको सङ्ख्या बढ्न सक्ने टर्कीका उपराष्ट्रपति फौट अक्टेलाई उद्धृत गर्दै खबरमा उल्लेख छ । सिरियाली अधिकारीहरूले पनि घाइतेको सङ्ख्या बढिरहेको र अस्पतालहरूमा चाप बढेकोले उपचारमै कठिनाइ आएको बताएका अल जजिराले जनाएको छ ।

भूकम्पबाट लाखौँ मानिस प्रभावित भएका छन् । भूकम्पको धक्का लेबनान, सिरिया र साइप्रसमासमेत महसुस गरिएको बीबीसीको खबरमा उल्लेख छ । भूकम्पपछि परकम्पहरू गइरहेका टर्कीका अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । टर्की सरकारले भूकम्पपछिको उद्धार र व्यवस्थापनका लागि राष्ट्रिय सङ्कटकाल घोषणा गरेको छ ।

प्रकाशित मिति : २३ माघ २०७९ सोमबार ००:००  ३ : १६ बजे