१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

माधव नेपाल भन्छन्ः पार्टीमा नेताहरूबीच कुनै खटपट छैन



काठमाडौं ।
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पार्टीभित्र कुनै मतभेद नरहेको दाबी गर्नुभएको छ ।

आइतवार ललितपुरको बालकुमारीमा आयोजित पार्टी केन्द्रीय कमिटीको पाँचौँ पूर्ण बैठकको समापन गर्दै अध्यक्ष नेपालले यस्तो दाबी गर्नुभएको हो ।

उहाँले पार्टीका नेता मुकुन्द न्यौपानेले पनि पार्टीलाई एकताबद्ध बनाउनका लागि र सुदृढ बनाएर लैजानका लागि सुझाव दिएको विषयलाई फरक मत भनेर सञ्चारमाध्यममा आएको भन्दै असन्तुष्टिसमेत व्यक्त गर्नुभयो । पार्टीमा मतभेद नरहेको र नेताहरूबीच पनि कुनै खटपट नभएको उहाँको भनाइ थियो ।

अध्यक्ष नेपालले भन्नुभयो, ‘बाहिर पत्रिकामा मुकुन्द न्यौपानेको फरक मत भनेर आएको छ । उहाँको सुझाव हो त्यो । पार्टीलाई कसरी सशक्त बनाउन सकिन्छ ? कम्युनिस्ट आन्दोलनलाई कसरी सशक्त बनाउन सकिन्छ ? नेपालको कम्युनिस्ट आन्दोलनको हैसियतलाई कसरी अगाडि बढाएर लैजान सकिन्छ भन्नेमा उहाँलाई लागेका विचारहरू हुन् । यस अर्थमा त्यसलाई अन्य अर्थमा लिनुपर्ने कुनै आवश्यकता छैन । नेताहरूबीच खटपट भएको भन्ने लागेको होला ? छैन ।’

अध्यक्ष नेपालले पार्टीलाई एकताबद्ध बनाएर लैजाने कुरामा ढुक्क हुन पार्टीका नेता कार्यकर्तालाई सचेत गराउनुभयो ।

प्रकाशित मिति : २३ माघ २०७९ सोमबार ००:००  ६ : १७ बजे