बुटवल ।
लुम्बिनी विकास कोषले धार्मिक र सामुदायिक सद्भाव कायम गर्न सम्बन्धित सबैमा अपिल गरेको छ । लुम्बिनी स्थित अन्तर्राष्ट्रिय सम्मेलन तथा ध्यान केन्द्रमा रामकथा प्रेमयज्ञ समितिबाट भारतीय सन्त मोरारी बापूबाट प्रवचन हुने कार्यक्रमको लागि हल प्रयोग गर्न अनुमती दिईएको विषयलाई लिएर सरोकारवाला संघ संस्थाहरुले चासो, चिन्ता र प्रश्नहरु उठाएर विज्ञप्ती, ध्यानाकर्षण र विरोध जनाएकोमा कोषले गम्भीर ध्यानाकर्षण भएको जनाउँदै आफ्नो धारणा सार्वजनिक गरेको हो ।
कोषका सदस्यसचिव सानुराजा शाक्यले आईतबार एक प्रेस विज्ञप्ती जारी गरि बौद्ध दर्शन, परम्परा विपरित नहुने गरि पवित्र उद्यान बाहिर लुम्बिनी साँस्कृतिक केन्द्रमा रहेको सभाहल मात्र प्रयोग गर्न दिइएको स्पष्ट पारे । नेपाल सरकारको लगानीमा बनेको सभाहल साझा धरोहर रहेको उल्लेख गर्दै कोभिडबाट खुम्चिएको पर्यटनलाई उकास्न सहयोग पुग्ने गरी आएका प्रस्तावित कार्यक्रमहरुलाई समझदारीका आधारमा हल प्रयोग गर्न अनुमति दिने गरेको विज्ञप्तीमा उल्लेख छ ।
‘कोभिडबाट खुम्चिएको हाम्रो पर्यटनलाई उकास्न सहयोग पुग्ने गरी आएका प्रस्तावित कार्यक्रमहरुलाई समझदारीका आधारमा हल प्रयोग गर्न अनुमति दिँदै आउने क्रममा कोषले मिति २०७९ माघ २१ देखि श्री रामकथा प्रेमयज्ञ समितीलाई २०७९ माघ २९ सम्म प्रयोग गर्न अनुमति प्रदान गरिएको हो । आयोजकले लिनु पर्ने अन्य सरकारी निकायबाट समेत अनुमति लिई सकेको हुँदा हामीले बौद्ध दर्शन, परम्परा विपरित नहुनेगरी पवित्र उद्यान बाहिर लुम्बिनी सांस्कृतिक केन्द्रमा अवस्थित हल प्रयोग गर्न अनुमति प्रदान गरेको सबैमा अनुरोध छ ।’ विज्ञप्तीमा उल्लेख छ ।
लुम्विनीमा निर्माण भएको हलमा बुद्ध र लुम्बिनीलाई श्रद्धा राखेर बौद्ध आस्थालाई ठेस नर्पुयाई गतिविधि गर्न चाहन्छन् भने यसमा आपत्ति गर्नु हुँदैन भन्नै बौद्ध विद्वानहरुको सुझावलाई समेत स्मरण गरेको सदस्य सचिव शाक्यले विज्ञप्तीमा भनेका छन । ‘हामीले अहिले कतिपय संस्थाहरुले बुद्ध जन्मस्थलमा आध्यात्मिक वातावरण बनाउन सघाउ र्पुयाउने हेतुले राख्नु भएका सुझावहरुलाई अन्तराष्ट्रिय सम्मेलन तथा ध्यान केन्द्र सञ्चालन कार्यविधिमा समेटेर लैजाने प्रतिवद्धता व्यक्त गर्दछौं’ विज्ञप्तीमा उल्लेख छ ।
बुद्ध जन्मस्थल लुम्बिनी, विश्व सम्पदा स्थल, सार्वभौमिक र सार्वजनिक महत्व र विशेषतायुक्त छ । यो ठाउँमा विश्वका सबै धर्मावलम्बीसंगै बुद्धको नाम सुन्ने जो कोही पनि श्रद्धापूर्वक एकचोटी भ्रमण गर्ने इच्छा राख्ने क्षेत्र भएकाले तथागत बुद्धले महापरिनिर्वाण सुत्तमा लुम्बिनीलाई पनि श्रद्धा, बैराग्य र शान्ति अनुभूति हुने सम्बेजनीय स्थानको रुपमा परिभाषित गरिएको स्मरण गराइएको छ । ‘विश्वका एशिया अमेरिका सबै कुना काप्चाका हरेक जाति धर्म तथा संस्कृति र क्षेत्रका मानिसहरु त्यही विश्वासका साथ लुम्बिनी आउने जाने गर्दछन् । यही सार्वभौमिक धार्मिक सांस्कृतिक सहिष्णुता नै लुम्बिनीको विशिष्ट पहिचान हो’ विज्ञप्तीमा भनिएको छ ।
कोषले लुम्बिनीलाई गुरुयोजना बनाई अन्तर्राष्ट्रिय शान्ति सद्भाव तथा बन्धुत्वको केन्द्र बनाउने परिकल्पनाकार संयुक्त राष्ट्र संघका तत्कालिन महासचिव उथान्तले लुम्बिनी विश्वका सबै धार्मिक सांस्कृतिक तथा सामाजिक नेताहरु लुम्बिनी आई द्वन्द्व र गरिबीमुक्त विश्व निर्माण गर्न प्रेरणा लिने परिकल्पना समेत गरेको स्मरण गर्दै लुम्बिनीलाई विश्वशान्तिको मुहानको रुपमा विकास गर्नुपर्नेमा जोड दिएको छ ।
प्रतिक्रिया