मायादेवी अनलाइन, बाणगंगा ।
कपिलवस्तु महोत्सवमा आज चर्चित लोक तथा दोहोरी गायिका बविता बाँनिया ‘जेरी’सहित हास्यकलाकार पुर्खे ‘बा’ सहितका कलाकारको प्रस्तुति रहने भएको छ ।
जिल्लाको बाणगंगा चारनम्बरस्थित बुद्धरंगशालामा माघ १७ गतेदेखि जारी १३ औं कपिलवस्तु महोत्सवमा राष्ट्रिय कलाकारले प्रस्तुति दिइरहेका छन् । महोत्सवको छैठौं दिन आज लोक तथा दोहोरी गायक बालचन्द्र बरालसंगै स्थानीय कलाकारको पनि प्रस्तुति रहने महोत्सव आयोजक संस्था कपिलवस्तु उद्योग बाणिज्य संघका अध्यक्ष डोलकराम घिमिरेले जानकारी दिए ।
महोत्सवको पाँचौँ दिन शनिबार लोक तथा दोहोरी गायिका सम्झना भण्डारी, बाल गायिका कमला घिमिरे, लोक तथा दोहोरी गायक बसन्त लम्साल, मिसन भुसाल लगायतले प्रस्तुति दिएका थिए ।
शनिबार महोत्सवमा सर्वाधिक दर्शकले अवलोकन गरेको आयोजकले जनाएको छ । महोत्सवमा २० हजार दर्शकद्धारा अवलोकन भई झण्डै ४० लाख बराबरको आर्थिक कारोबार भएको कपिलवस्तु उद्योग बाणिज्य संघका महासचिव मनोज पौडेलले बताए ।
जारी महोत्सवमा कपिलवस्तु डान्स आइडल र पहिलो सिङ्गिङ्ग आइडल भइरहेको छ । डान्स आइडलमा निर्णायक र दर्शकको भोटद्धारा उपाधि छनौट गरिनेछ भने गायन तर्फ निर्णायकबाट उपाधि दिलाइनेछ ।
महोत्सव माघ २९ गतेसम्म चल्ने छ ।
प्रतिक्रिया