काठमाण्डौ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अब आफू चुप लागेर नबस्ने बताउनुभएको छ । सामाजिक सञ्जालमा स्टाटस लेखेर लामिछानेले आजसम्म चुप लागे पनि अब आफूले मौनता तोड्ने बताउनुभएको हो ।
‘अब मलाई भन्न बाँकी, गर्न बाँकी, लेख्न बाँकी केही भए भनिहाल्नु होला, गरिहाल्नु होला, लेखिहाल्नु होला । मेरो मौनता आजसम्मका लागि मात्रै हो । म अभिमन्यु होइन’, उहाँले लेख्नुभएको छ ।
सर्वोच्च अदालतले लामिछानेको नागरिकता नै अवैध भएको फैसला गरेसँगै उहाँको सांसद र उपप्रधान एवम् गृह मन्त्री पद खारेज भएको छ । तर पुनः गृह मन्त्रालय पाउनुपर्ने अडान लिएर सरकारबाटै बाहिरिनेसम्मको चेतावनी दिएपछि लामिछानेको चर्को आलोचना भएको छ । उहाँले गृह मन्त्रालयको अडान नछाडेको र नागरिकता प्रकरणमा दोषी ठहर भइसक्दा समेत कुनै गल्ती महसुस नगरेको भन्दै सञ्चारमाध्यम र सामाजिक सञ्जालबाट आलोचना हुँदै आएको छ ।
आजसम्म यस्ता आलोचनाको जवाफ नदिएका लामिछानेले अब चुप लागेर नबस्ने उल्लेख गर्नुलाई महत्त्वका साथ हेरिएको छ ।
प्रतिक्रिया