९ मंसिर २०८१, आइतबार | Mon Nov 25 2024

बागलुङ–पोखरा सडक : दैनिक ८ घण्टा बन्द हुने



पोखरा ।

मध्यपहाडी लोकमार्गको बागलुङ–पोखरा सडकखण्ड दैनिक ८ घण्टा बन्द हुने भएको छ। बागलुङ–पोखरा सडकखण्डको स्तरोन्नतिका लागि यातायात बन्द गरेर काम अघि बढाइने भएको हो।

मध्यपहाडी राजमार्ग आयोजनाले बागलुङ–पोखरा सडकखण्ड फराकिलो बनाउन शुरु गरेसँगै कामलाई तीव्रता दिन राजमार्गमा यातायातका साधन बन्द गरेर काम गर्न लागिएको जनाएको छ।

आयोजनाका अनुसार प्रत्येक दिन बिहान ११ देखि दिउँसो ३ बजेसम्म र राति ९ बजेदेखि राति १ बजेसम्म सवारीसाधन रोकेर आयोजनाको कामलाई तीव्रता दिइनेछ। रोकिएका सवारीसाधन आधा घण्टाको फरकमा सञ्चालनको व्यवस्था मिलाइएको आयोजना कार्यालयले जनाएको छ।

पोखरा-बाग्लुङ राजमार्गअन्तर्गत हाल पोखराको हरिचोकदेखि याम्दी पुलसम्मको सडक स्तरोन्नतिको काम भइरहेको हो। सो खण्डको निर्माणका लागि मोतिदान कन्स्ट्रक्सन प्रालिसँग ठेक्का सम्झौता भएको थियो।

चौबारीबाट ५० मिटरअगाडि हेमजातर्फ भिरको उचाइ धेरै भएकाले भिर कटान भइरहेकाले सडक सुरक्षालाई ध्यानमा राखेर यातायात सञ्चालनमा रोक लगाइएको मध्यपहाडी लोकमार्ग आयोजना कार्यालय कुश्माका प्रमुख नारायणदत्त भण्डारीले बताए। उनका अनुसार उक्त सडकमा चल्ने सवारीसाधनलाई वैकल्पिक मार्ग प्रयोग गर्न भनिएको छ।

बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङलाई प्रदेशको राजधानी पोखरा र देशको राजधानी काठमाडौँलगायत देशका ठूला शहरसँग जोड्ने मुख्य राजमार्ग भएकाले यहाँका सर्वसाधारण प्रभावित हुनेछन्। यो सडकखण्डमा दैनिक हजारौँ सवारीसाधन ओहोरदोहोर गर्ने गरेका छन्।

प्रकाशित मिति : १८ माघ २०७९ बुधबार ००:००  ४ : २३ बजे