१० मंसिर २०८१, सोमबार | Tue Nov 26 2024

सियारीको १२ औं गाउँसभाबाट ५ वटा विधेयक पारित



भैरहवा ।
रुपन्देहीको सियारी गाउँपालिकाको बाह्रौ गाउँसभा विभिन्न विधेयकहरु पारित गर्दै सम्पन्न भएको छ ।

पुष २९ गते देखि शुरु भएको गाउँसभा विभिन्न ५ वटा विधेयकहरु सर्बसम्मतिले पारित गर्दै सम्पन्न भएको हो ।

गाउँपालिका अध्यक्ष तथा बाह्रौ गाउँसभाका सभाध्यक्ष थानेश्वर घिमिरेले पालिका सञ्चालनका लागि आबश्यक विधेयकहरु सर्बसम्मतिले पारित भएको जानकारी दिनुभयो ।

उहाँले गाउँसभामा पेश भएका पालिकाको लागि आवश्यक कानुन निर्माण तथा संशोधन सहितका विधेयक पारित भई आजैका दिन देखि लागू भएको बताउनु भयो ।

उहाँका अनुसार सियारी गाउँपालिकाको संस्था दर्ता तथा नियमन सम्बन्धि विधेयक, २०७९, आर्थिक ऐन २०७९ मा संशोधन गर्न बनेको विधेयक, २०७९, सियारी गाउँपालिकाको नगर प्रहरी ऐन २०७६ मा संशोधन गर्न बनेको विधेयक २०७९, सियारी गाउँपालिकाको शिक्षा ऐन २०७४ मा संशोधन गर्न बनेको विधेयक २०७९ र सियारी गाउँपालिका लेखा समिति (कार्य संचालन) कार्यविधि २०७९ पारित भएका छन् ।

सभामा बोल्दै अध्यक्ष घिमिरेले पालिकाको विकासका लागि सम्पूर्ण जनप्रतिनिधि र कर्मचारी एकताबद्ध भएर अगाडि बढ्नु पर्नेमा जोड दिनुभयो । उहाँले विकास निर्माणका कामलाई जनताले अनुभूति हुने गरी सम्पन्न गर्न लागिएको बताउँदै सबैले आ–आफ्नो क्षेत्रबाट आवश्यक सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

गाउँपालिकाकी उपाध्यक्ष तारा थारुले आफूहरु निर्वाचित भएर आए लगत्तै बर्षायाम लागेको, त्यसपछि निर्वाचन लगाएतका कामले गर्दा काम गर्न ढिलाई भएको बताउदै अबको समय विकास निर्माण र जनताको सेवाका लागि छुट्टाएको बताउनु भयो ।
उहाँले समृद्ध सियारी र खुसी सियारीवासी बनाउने अभियानमा आफूहरु लागि परेको बताउँदै त्यसका लागि सबैको एकता र सहकार्य जरुरी रहेको बताउनुभयो ।

सभामा बोल्ने वडा अध्यक्ष तथा कार्यपालिका सदस्यहरुले सियारीको समृद्धिको लागि काम गर्नु पर्नेमा जोड दिनुभयो । उहाँले सियारी गाउँपालिकाको अधिकांश क्षेत्र कृषि क्षेत्र भएकाले कृषकको हितलाई ध्यानमा राखेर नीति तथा योजना तर्जुमा गर्नु पर्नेमा जोड दिदैँ सिचाई लगाएतका क्षेत्रमा बजेट बढाउदै जानु पर्नेमा जोड दिनुभयो ।

सभामा बडा अध्यक्षहरु शेर बहादुर गुरुङ, दिपक बहादुर शाही, बडा सदस्य तथा कार्यपालिका सदस्यहरु भुम प्रसाद रेग्मी, सेन्तोष शर्मा भुसाल, ओमप्रकाश थापा, अन्जु रोका, दिपलाल केवट लगायतले सिकारीलाई शिक्षा, स्वास्थ्य र पूर्वाधार विकाससंगै कृषिका क्षेत्रमा पनि काम बोल्नु भएको छ ।

प्रकाशित मिति : ७ माघ २०७९ शनिबार ००:००  ६ : २२ बजे