सप्तरी ।
सप्तरीको दुई छुट्टाछुट्टै ठाउँमा आगलागी हुँदा लाखौँको क्षति भएको छ । यहाँको रुपनी गाउँपालिका र तिरहुत गाउँपालिकामा आगलागी हुँदा ९ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको हो। आगलागीबाट दुई वटा घर जलेर नष्ट भएका छन् भने १३ वटा पशु चौपाया मरेका प्रहरीले जनाएको छ।
आज बिहान तिरहुत गाउँपालिका–४ डिमनका हरेराम यादवको घर नजिकै सल्केको आगोले हरेरामका छिमेकी तेजनारायण यादव र ओम नारायण यादवको घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख प्रहरी उपरीक्षक अविनारायण काफ्लेले जानकारी दिनुभयो । आगलागीमा हरेरामको गोठमा रहेका दुई वटा खसी, दुईवटा पाडी र एउटा बाख्रा मरेका छन् ।
राजविराज, हनुमाननगर र कञ्चनरुप नगरपालिकाको दमकल, स्थानीय र सुरक्षाकर्मीको प्रयासमा आज बिहान पौने चार बजे आगो निभाइएको हो । आगलागीबाट घर, पशु चौपाया, लत्ताकपडा र अन्य सरसामान जलेर नष्ट भएको छ ।
यस्तै, सप्तरीको रुपनी गाउँपालिका-१ मा आगलागी भएको छ । स्थानीय मैयादी मियाँको गोठ नजिकबाट सुरु भएको आगलागीले उहाँको चारवटा खसी र चारवटा बाख्रा जलेका छन् । शम्भुनाथ नगरपालिकाको दमकल, स्थानीय र सुरक्षाकर्मीको सहयोगमा आगो निभाइएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया