मायोदवी अनलाइन, बाणगंगा ।
पशुजन्यवस्तुको निकासीमा लारी कन्सट्रक्सनले मच्चाएको लुटमाथि बाणगंगा नगरपालिका एक्सनमा उत्रिएको छ ।
मायादेवी अनलाइन लगायतका सन्चार माध्यममा यस विषयमा समाचार प्रकाशन/प्रशारण भएपछि बाणगंगाले ठेकेदार पक्षलाई स्पष्टिकरण सोधेको हो ।
चालु आवमा बाणगंगाले पशुजन्यवस्तुको नगर निकासी गर्दा कर लिने गरी लारी कन्सट्रक्सनलाई ठेक्का दिएको छ ।
रु. २१ लाखमा लारीले उक्त ठेक्का पाए पनि कानुन विपरित रकम असूली गरेको पाइएको थियो । लारीले नगरबाट मात्र निकासी हुने पशुजन्यवस्तुमा कर संकलन गर्ने अख्तियारी पाएको छ । तर नगर भित्रबाट नभई अन्य जिल्लाबाट पशुजन्यवस्तु लिएर आउने सवारीबाट समेत ठेकेदार पक्षले कर उठाइरहेको छ ।
चालु आवको साउन महिना देखि यो धन्दा सुरु भएको हो । ठेकेदार पक्षले अवैधधन्दा गर्न थालेको ६ महिना हुँदा पनि नियामक निकाय बाणगंगा नगरपालिका मौन जस्तै बनेको गुनासो आएको छ ।
महेन्द्र राजमार्ग हुँदै प्यूठानबाट पशुजन्यवस्तु लिएर पूर्व जादै गरेका व्यवसायी जगत थापा ठेकेदारको फन्दामा परे । उनले तिर्नै नपर्ने कर बाणगंगामा आएर तिर्न बाध्य भए ।
ठेकेदार पक्षसंग थापाले यो विषयमा आफूले कर तिर्न नपर्ने बताए । थप बोले सामान नै जफत गर्ने धम्की ठेकेदारले दिए, उनले पत्रकार समक्ष भने, ‘डरले गर्दा केहीँ बोल्न सकेन्, कर तिर्न बाध्य भए ।’
ठेकेदार पक्षले नगर निकासीबाट प्रति सवारी १० रुपैयाँ मात्र लिन पाउँछ । नगरभित्र उत्पादन भै बाहिर निकासी हुने राँगा, गाई र भैसी आदिको निकासी कर प्रतिगोटा १० रुपैयाँ तोकिएको हो । तर लारी कन्सट्रक्सनले भने चार सय रुपैयाँसम्म असूली गरिरहेको छ ।
नगरले बनाएको मूल्यसूची ठेकेदार पक्षले कार्यालयमा राखेको छैन् । नेपाललाई पूर्व पश्चिम जाड्ने महेन्द्र राजमार्गमै यो ठगी धन्दा भइरहेको हो । मायादेवी अनलाइनलाई प्राप्त प्रमाण अनुसार ठेकेदारले बाणगंगा बाहेक राजमार्ग हुँदै गुड्ने हरेक पशुजन्यवस्तु निकासीबाट कर उठाउने गरेको छ ।
एकातिर ठेकेदार पक्षले नगरले तोकेको मूल्य भन्दा सय गुणा बढी रकम असुली गरिरहेको छ भने अर्को तर्फ कार्यक्षेत्रबाट भन्दा अन्यत्रबाट पनि रकम असुली गरिरहेको छ । लुट माथि लुटको धन्दा बाणगंगा २ पिपरामा चलेको हो ।
यी विषयमा बाणगंगाले ठेकेदारलाई स्पष्टिकरण सोध्दै कारबाहीको चेतावनी दिएको छ । बाणगंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भूसालले ठेकेकदार पक्षलाई के कसो भएको हो भनि स्पष्टिकरण सोधेको बताए । चित्तबुझ्दो स्पष्टिकरण नआए थप कारबाही प्रक्रिया अगाडी बढाइने उनले जनाए ।
मायादेवीमा प्रकाशित समाचार– बाणगंगाको पशुजन्यवस्तु निकासीमा ब्रह्मलुट, महेन्द्र राजमार्ग नै बन्यो आतङ्क थलो
प्रतिक्रिया