११ मंसिर २०८१, मंगलबार | Tue Nov 26 2024

पोखरामा भएको विमान दुर्घटनामा हराइरहेका एक जना अझै फेला परेनन्, खोजी चल्दै



कास्की ।

कास्कीको पोखरा महानगरपालिका–१५ नयाँगाउँको सेती नदी खोँचमा भएको विमान दुर्घटनामा हराइरहेका एक जना अझै फेला पर्न सकेका छैनन् । बेपत्ता एक जनाको खोजी कार्य निरन्तर रहेको नेपाली सेनाले जनाएको छ ।

माघ १ गते पोखरामा भएको विमान दुर्घटनामा ज्यान गुमाएकामध्ये हिजो बेलुकासम्म ७१ जनाको शव फेला परेको छ । हिजो थप एक जनाको शव भेटिएको थियो । एक महिलाको शव भेटिएको हो । शव पोस्टमार्टमका लागि पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ । दुर्घटनाको पहिलो दिन ६३ र दोस्रो दिन सोमबार सात जना र मङ्गलबार एक जनाको गरी ७१ जनाको शव फेला परेको थियो । अब एक जनाको मात्र अवस्था थाहा हुन सकेको छैन ।

४८ जनाको शव हिजो काठमाण्डौ ल्याइएको छ । ६८ जना यात्रु र ४ जना चालकदलका सदस्यसहित ७२ जना सवार यती एअरलाइन्सको नाइन एन–एएनसी–एटिआर विमान आइतबार पोखरामा दुर्घटना भएको थियो । काठमाण्डौ ल्याइएका शवको परीक्षण आज बिहानदेखि सुरु गरिदैछ ।

शवलाई शिक्षण अस्पताल महाराजगञ्जको शवगृहमा राखिएको छ । हिजो मृतकका परिवार र आफन्तजनलाई काउन्सिलिङ गर्ने काम भएको थियो । ज्यान गुमाएकामध्ये केहीको शव पहिचानमा कठिनाइ भएकाले डिएनएका आधारमा पहिचान गरेर परीक्षणपछि एकैपटक मृतकका परिवार तथा आफन्तलाई शव हस्तान्तरण गर्ने तयारी छ ।

२२ जनाको शव भने पोखरामा पोस्टमार्टम गरेर आफन्तलाई बुझाएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिल शाहीले जानकारी दिनुभएको छ ।

प्रकाशित मिति : ४ माघ २०७९ बुधबार ००:००  ८ : १५ बजे