घोराही ।
थारू बस्तीहरू माघीको तयारीमा जुटेका छन् भने कपिलवस्तु, लमही, घोराही, तुलसीपुर र विभिन्न गाउँपालिकामा माघी महोत्सव हुने भएका छन् । अहिले जिल्लाका गाउँदेखि सहरबजारमा थारू संस्कृति झल्कने नृत्य तथा खाने परिकार राखी माघी महोत्सव तथा माघी विशेष कार्यक्रम सञ्चालन भइरहेका छन् ।
अहिले गाउँबस्तीमा मघौटा सामा (सामान) जुटाउने चटारो छ । माघीको विशेष परिकारका लागि ढिक्री बनाउन चामलको पिठो, अनदीको पिठो पिस्ने, दाउरा, पात टिप्न वन जाने, घर लिप्ने, दुनाटपरी गाँस्ने, माछाको जोहो गर्नेलगायतका घरकै कामकाज गर्न भ्याइनभ्याइ रहेको घोराही उपमहानगरपालिका–१६ सर्रा निवासी सुनिता चौधरी बताउनुहुन्छ ।
प्रायः गाउँघरमा बेलुका थारू गीत गाउने, आगो ताप्ने, माघीका लागि मासुको जोहो गर्ने, बर्घर, महटाँवा चुन्नेलगायतका सरसल्लाह गर्ने कामसमेत भइरहेको थारू कल्याणकारिणी सभा दाङका अध्यक्ष भुवन चौधरीले बताउनुभयो ।
सधैँ खेतीपाती र ज्याला मजदुरीकै कारण चाडपर्वबाहेक अन्य समयमा थारू समुदाय दिनभर सुनसानजस्तै देखिने गरे पनि माघीले उत्साह थप्ने गरेको अध्यक्ष चौधरी बताउनुहुन्छ । “अन्य समयमा गाउँघरमा बालबालिका र वृद्धवृद्धाबाहेक अरू भेटिँदैनन् तर माघीका लागि थारू समुदायले हप्ता दिनअघिदेखि नै तयारी सुरु गरिरहेका छन्,” अध्यक्ष चौधरीले भन्नुभयो, “माघी थारू समुदायको विशेष पर्व हो । यसले उत्साह थप्छ ।”
माघेसङ्क्रान्तिका अवसरमा माघ १ गतेका दिन नजिकको जलाशय, नदी, पोखरी, तलाउलगायतका स्थानमा गएर नुहाउने र महटाँवाको हातबाट चामलको सेतो टीका ग्रहण गरेर दिदीबहिनीका लागि निसराउ (चामल, नुन, मास) छुट्याउँछन् । यसरी छुट्याएको निसराउ दिदीबहिनीलाई आफ्नो दक्षअनुसार दानदक्षिणा दिने चलन छ ।
थारू समुदायले माघीलाई पर्वका रूपमा मात्रै होइन, माघ १ गते नयाँ वर्षका रूपमा पनि मनाउने गर्छन् । वर्ष दिन मरी मरी काम गर्ने र माघीमा गाउँले आफन्त सबैले मिलेर खानपिन गरी मघौटा नाच नाचेर रमाइलो गर्ने परम्परा रहेको महतबा महासङ्घ दाङका अध्यक्ष चन्द्रप्रसाद चौधरी बताउनुहुन्छ ।
उहाँका अनुसार माघीका अवसरमा घरबाहिर रहेका मानिस घरमा जम्मा भएर वर्षभरि गर्ने योजना बनाउनेदेखि नयाँ घर बनाउने, परिवार छुट्टिने, जिम्दारको खेतबारी अधियाँ लगाउने कामदेखि गाउँको अगुवा महटाँवा, बडघर चुन्ने कामसमेत गर्ने गरिन्छ ।
२०५७ साल साउन २ गते कमैया मुक्तिको घोषणा भएपछि थारूहरूले माघीलाई मुक्तिका रूपमा पनि मनाउने चलन रहेको थारू कल्याणकारिणी सभा दाङका अध्यक्ष चौधरी बताउनुधहुन्छ । उहाँका अनुसार थारू समुदायको आफ्नै मौलिक वेशभूषा, भाषा, कला, संस्कृति छ ।
पछिल्लो समय भने यो मौलिकपनमा ह्रास हुँदै गएपछि संस्कृति संरक्षणमा समेत नयाँ पुस्ता जागरुक हुँदै आएको छ । पश्चिम नेपालको दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा थारू समुदायको बाक्लो बस्ती छ । पुस्तान्तरणको अभावका कारण थारू पहिचानसमेत हराउँदै गइरहेको थारू अगुवाहरू बताउँछन् ।
प्रतिक्रिया