११ मंसिर २०८१, मंगलबार | Tue Nov 26 2024

मौसम : तराईका लागि २४ घण्टे चेतावनी



काठमाडौं ।
हाल (शनिबार बिहान) देशका पहाडी भेगमा आंशिकदेखि सामान्य बदली (आकाशमा बादल) रही बाँकी स्थानमा सामान्यतया मौसम सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार तराईका थोरै स्थानमा हुस्सु/कुहिरो लागेको छ।

तर यो हुस्सु/कुहिरो घाम लागेसँगै हटेर जाने सम्भावना रहेको महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन्। ‘आज हुस्सु/कुहिरो दिनभरि बस्ने देखिँदैन’, उनले भनिन्।

महाशाखाले शनिबार बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो कर्णाली, गण्डकी र प्रदेश १ का पहाडी भेगमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ।

बुलेटिनअनुसार राति कर्णाली, गण्डकी र प्रदेश १ का पहाडी भेगमा आंशिक बदली रही देशका बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ।

महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ।

जसमा भनिएको छ : तराईका थोरै भूभागमा हुस्सु/कुहिरो लागेर दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा समेत प्रभाव पर्न सक्ने सम्भावना रहेकाले आवश्यक सावधानी तथा सतर्कता अपनाउन हुन अनुरोध छ।

तापक्रम
आज बिहान ५:४५ बजेको मापनअनुसार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ४ डिग्री सेल्सियस रहेको जानकारी पनि मौसमविद् प्रतिभा मानन्धरले दिइन्। तर यो अहिले बिहान ८:४५ बजे पुनः अपडेट गरिनेछ भने त्यतिबेला महाशाखाले देशका अन्य स्थानका न्यूनतम तापक्रम पनि सार्वजनिक गर्नेछ।

प्रकाशित मिति : ३० पुस २०७९ शनिबार ००:००  ७ : १० बजे