मायादेवी अनलाइन, कपिलवस्तु ।
ऐतिहासिक महत्व बोकेको राजापानी क्षेत्रलाई अत्याधुनिक पार्कको रुपमा बिकास गर्न सबैको सहकार्य आवश्यक रहेको लुम्बिनी प्रदेश सांसद बिष्णु पन्थीले बताउनु भएको छ ।
राजापानी सामुदायिक वन उपभोक्ता समूह बाणगंगा नगरपालिका वडा नम्बर ३ को १९ औं वार्षिक साधारण सभा तथा नवौ अधिवेशनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो ।
लुम्बिनी, तिलौराकोटमा आउने पर्यटकलाई पर्यटकियस्थल राजापानीमा ल्याउनु पर्ने बताउँदै भविष्यमा राम्रो पर्यटकीय गन्तब्यसँगै वनको बिकास पनि हुने तर्क गर्नुभयो । साथै उहाँले यस क्षेत्रको विकासमा प्रदेश सरकारको सधै साथ सहयोग हुने जिकिर गर्नु भयो ।
प्रदेश सासंद पन्थीले सबैको साझा प्रयासबाट नै वन र राजापानीलाई व्यवस्थित बनाउन सकिने बताउँदै अझै यसलाई प्रचार प्रसार गर्न आवश्यक रहेको तर्क गर्नुभयो । यस्तै जिल्ला समन्वय समिति कपिलवस्तुका प्रमुख बाबुराम आचार्यले राजापानी सामुदायिक वन यस क्षेत्रको नमुना वनको रुपमा स्थापित भएको बताउँदै यसले लिएको बिकासले जिल्लाको पहिचान बनेको स्पष्ट पार्नुभयो । सव डिभिजन वन पिपराका रविन्द्र खनालले वनहरुले वनको ऐन कानुन र प्रविधि परिभित्र रहेर काम गर्न आग्रह गर्नुभयो ।
राष्ट्रिय अपाङ्ग महासंघका निवर्तमान अध्यक्ष मित्रलाल शर्माले कपिलवस्तुको चिनारी राजापानीले भविष्यको सुन्दर चित्र कोरेको बताउनु भयो ।
यस्तै राजापानी सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष ढाकाराम अधिकारीले क्षेत्रकै गहनाको रुपमा रहेको सामुदायिक वन भविष्यमा आर्थिक, सामाजिक तथा पर्यावरणीय बिकासमा कोषेढुङ्गा साबित हुने बताउनु भयो ।
यस्तै सचिवको प्रतिवेदन सीतादेवी पौडेल, कोषाध्यक्षको प्रतिवेदन कृष्ण पौडेल र लेखा संयोजक विष्णु प्रसाद अर्यालले आर्थिक गतिविधिका बारेमा बताउनुभएको थियो ।
कार्यक्रममा पार्टीहरुको तर्फबाट नेकपा (माओवादी केन्द्र)का नारायण भुसाल, कपिलवस्तु नागरिक समाजका अध्यक्ष दोलख बहादुर पछाई, राजापानी सामुदायिक वनका सल्लाकार सदस्य दोणराज सुवेदी, दलबहादुर कुँवर, संस्थाका पूर्व अध्यक्ष गोविन्द पोख्रेल, कालिका सामुदायिक वनका अध्यक्ष सुनिता गुजुवाले बोल्दै बाणगंगा नगरपालिकासँगै कपिलवस्तु जिल्ला र लुम्बिनी प्रदेशको समेत सुन्दर भविष्य निर्माणमा राजापानी सामुदायिक वनले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्नेमा बिश्वास ब्यक्त बताउनु भयो ।
प्रतिक्रिया