११ मंसिर २०८१, मंगलबार | Tue Nov 26 2024

बाणगंगाको कपिलधाममा चौथो नगर स्तरिय माघी (खिचडी) महोत्सव हुँदै



अनिश बन्जाडे, जितपुर ।

कपिलवस्तुको बाणगंगा- ९ कपिलधाममा चौथो नगर स्तरिय माघी (खिचडी) महोत्सव हुने भएको छ । थारु समुदायको नयाँ साल २०७९ तथा थारु सम्बत २६४६ को अवसरमा महोत्सव हुन लागेको हो ।

‘कला संस्कृति संरक्षण, सम्बर्धन माघी के आवहान्, न्याय, समानता आउर समृद्धि हम्मनके अभियान'” ‘भन्ने नाराका साथ थारु कल्याणकारिणी सभा बाणगंगा नगर कार्यसमितिको आयोजनामा आगामी माघ २ गतेदेखि ४ गतेसम्म बाणगंगाको कपिलधाममा महोत्सव लाग्ने शुक्रबार पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको हो ।

थारु कल्ल्याणकारिणी सभाका केन्द्रिय सदस्य जन्जिर प्रसाद थारुले पछिल्लो समय थारु समुदायले अरुको संस्कृतिको सिको गर्दा आफ्नै संस्कृति धरापमा परेको बताउनुभयो। सोही धरापमा परेको थारु जातिको कला, संस्कृति र परम्परासंगै भेषभूषालाई जोगाई राख्नका लागि नगर स्तरिय माघी (खिचडी) महोत्सवको आयोजना गरिएको बताए । थारु जातिको हकतिका लागि थारु कल्ल्याणकारिणी सभाले केन्द्रदेखि नै धेरै पहल गरेको बताउँदै आगामी दिनमा उक्त कार्य जारि राख्ने प्रतिबद्धता जनाए ।

यस्तै थारु कल्याणकारिणी सभा कपिलवस्तुका अध्यक्ष उमाशंकर चौधरीले थारु संस्कृतिको संरक्षण, संवर्द्धन र प्रवर्द्धन गर्ने उद्देश्यका साथ महोत्सव गर्न लागिएकोे बताए । उनले थारुहरुको हक, अधिकार तथा न्यायसंग समेत माघी महोत्सव जोडिएको बताए ।

यस्तै थारु कल्याणकारिणी सभाका पूर्व केन्द्रिय सदस्य भोजराज थारुले माघी महोत्सव थारुको वास्तविक पहिचान झल्काउन महत्वपूर्ण सावित हुने दाबी गरे । उनले महोत्सवमा थारु सांस्कृतिक झाँकी ¥याली प्रदर्शन, सांस्कृतिक प्रस्तुति, थारु खानपिन प्रदर्शनी एवं बिक्री, थारु सीप, हस्तकला प्रदर्शन लगायतका विभिन्न कार्यक्रमहरू रहेको बताए ।

महोत्सवमा थारु संस्कृति झल्कने झुमरा, झर्रा, लाठी नाच, मयूर नाच, सजनी विरहनी गीत, रेकर्ड डान्स समेत हुने उनले जानकारी दिए ।

थारु कल्याणकारिणी सभा बाणगंगाका अध्यक्ष नाथुराम थारुले महोत्सवले थारु समुदायको संस्कृतिको संरक्षणसँगै राजनीतिक चेत पनि भर्ने बताए । थारु समुदायमा राजनीतिक चेतको आवश्यकता रहेको बताउँदै उनले महोत्सवले थारु समुदायमा नेतृत्व क्षमताको विकास गर्दै आएको दाबी गरे ।

उनले महोत्सवलाई भव्य रुपमा सफल बनाउन सबैको साथ सहयोग मिल्ने विश्वास व्यक्त गदै भने, ‘नगरपालिका, वडासंगै अन्य सरोकारवाला सबै निकायको साथ मिलेको छ । यस थप उर्जा प्राप्त भएको छ ।’

महोत्सवले पर्यटन विकासलाई टेवा पुग्ने बताउँदै उनले चौथो माघी महोत्सवले यस क्षेत्रका थारुहरुमा रौनक छाउने बताए ।

महोत्सवमा १० जना थारु समुदायका वृद्धवद्धालाई सम्मान गर्ने, रक्तदान लगायतको कार्यक्रम समेत रहेको छ । तीन दिनसम्म चल्ने महोत्सवमा थारुहरुको भेषभूषा, सस्कृति झल्किने गरि राखिने स्टल निशूल्क उपलब्ध गराईने छ ।

प्रकाशित मिति : २९ पुस २०७९ शुक्रबार ००:००  ६ : ३० बजे