११ मंसिर २०८१, मंगलबार | Tue Nov 26 2024

लुम्बिनी प्रदेशः मन्त्रीमण्डल विस्तारको तयारी, कपिलवस्तु नसमेटिने सम्भावना



मायादेवी अनलाइन, बाणगंगा ।
नवनियुक्त लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले सपथ ग्रहणसंगै सानो आकारको मन्त्रिपरिषद गठन गर्ने तयारी गरेका छन् ।

बुधवार लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका गिरीको बिहीवार दिउँसो प्रदेशको राजधानी दाङको राप्ती उपत्यकामा सपथ ग्रहणको तयारी छ ।

नयाँ गठन हुने मन्त्रिपरिषदका सदस्यहरुले मुख्यमन्त्रीको सपथ ग्रहण लगत्तै सपथग्रहण गर्ने तयारी गरिएको छ ।

बिहीवार मुख्यमन्त्री गिरीले नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य जोख बहादुर महरा सहित नेकपा (एमाले)का केन्द्रिय सदस्यहरु भूमिश्वर ढकाल र चेतनारायण आचार्यलाई मन्त्री बनाउने टुंगो लागि सकेको बुझिएको छ । अरु साना दलहरुले नाम दिए बिहीबार नै थप १ जना सदस्य थपेर ५ सदस्यीय मन्त्रिमण्डल बन्ने छ ।

नेकपा (माओवादी केन्द्र) का तर्फबाट मुख्यमन्त्रीका दाबेदार रहेका महराले आन्तरिक मामिला तथा कानून मन्त्री, भूमिश्वर ढकालले भौतिक पूर्वाधार तथा चेतनारायण आचार्यले ग्रामिण तथा सहरी विकास मन्त्रीको रुपमा पदभार सम्हाल्ने बताइएको छ ।

तर माओवादी केन्द्रले अर्थमन्त्रीमा दावी गरि रहेका कारण अन्तिम टुंगो नलागेको पार्टीहरुको संयुक्त बैठकमा सहभागी एक सदस्यले बताए ।

यता गिरीले बनाउन आटेको मन्त्रीमण्डलमा कपिलवस्तु नसमेटिने सम्भावना छ । धेरै दल र सानो आकारको मन्त्रीमण्डल विस्तारको तयारीले कपिलवस्तु मन्त्रीविहिन हुने सम्भावना देखिन्छ । जिल्लाबाट विष्णु पन्थी र अर्जुन केसी मन्त्री बन्ने लाइनमा छन् । पन्थी प्रदेशकै प्रभावशाली नेता मानिन्छन् । ०७४ मा समेत प्रदेश सदस्य बनेका पन्थी अघिल्लो कार्यकालमा मन्त्री हुन सकेनन् । यो पटक मन्त्री हुने आशा गरिए पनि मन्त्री हुने सम्भावना कमजोर देखिन्छ ।

सामाजिक सञ्जालमा कपिलवस्तुले मन्त्री नपाउने देखेपछि एमाले कार्यकर्ताले पार्टी नेतृत्वको ध्यानाकर्षण गराइरहेका छन् ।

प्रकाशित मिति : २८ पुस २०७९ बिहिबार ००:००  ६ : ४० बजे