मायादेवी अनलाइन, तौलिहवा ।
शीतलहरसँगै जाडो बढ्दै गएपछि जिल्लाको जनजीवन बिस्तारै प्रभावित हुँदै गएको छ । चिसोका कारण सर्वसाधारणहरूलाई घर बाहिर नस्किनसमेत समस्या हुने गरेको छ ।
जाडो बढ्दै गए पछि जनजीवन कष्टकर बन्दै गएको हो । चिसो बढेपछि सर्वसाधारण घरभित्रै बस्न बाध्य छन् । सडक तथा बजार क्षेत्रमा सर्वसाधारणको चहलपहल घटेको छ । चिसोले कार्यालयहरूमा सेवाग्राहीको उपस्थिति पातलिएको छ । बिहान देखि बाक्लो हुस्सु र कुहिरो लाग्ने गरेको छ ।
कपिलवस्तु नगरपालिकाको रामनगरस्थित मौसम पूर्वनुमान सम्पर्क कार्यालयका अनुसार गत बर्ष भन्दा जिल्लामा यस बर्ष जाडो बढेको छ ।
सम्पर्क कार्यालयका रामु रेग्मीका अनुसार पुस दोश्रो साताबाट जिल्लामा जाडो बढ्दै गएको हो । त्यसयता बाक्लो हुस्सु र कुहिरोले ढाके पछि राम्ररी घाम पनि लागेको छैन् । उनका अनुसार न्युनतम तापक्रम ६ देखि अधिकतम ११ डिग्री सेल्सियस तापक्रम पुगेको छ । चोक चोक तथा घर घरमा आगो र हिटर बालेर बस्नेहरू बढेका छन् ।
जाडो बढे पछि बालबालिका, वृद्धवृद्धा, बिरामी र मजदुरहरू प्रभावित भएका छन् । जाडो बढे पछि सर्वसाधारणहरू घरभित्रै बसेर आगो ताप्ने गरेका छन् । बाटोमा सर्वसाधारणहरू कमै देखिएका छन् । सधै ब्यस्त रहने सडकमा सर्वसाधारणको चाप कम भएको छ । बढी भीडभाड रहने प्रशासन, मालपोत, नापी कार्यालयमा समेत बिस्तारै सेवाग्राहीको संख्या घट्दै गएको छ।
चिसोले सबैभन्दा बढी बालबालिका र वृद्धवृद्धाहरुलाई प्रभावित गरेको छ । चिसो बढेपछि जिल्लाका सरकारी र निजी स्वास्थ्य अस्पताल र संस्थामा बिरामीहरूको चाप समेत बढ्दै गएको छ । कपिलवस्तु अस्पतालका डाक्टर गणेश क्षेत्रीका अनुसार अस्पतालमा श्वासप्रश्वास, झाडावान्ता, ज्वरो, निमोनिया, रुघाखोकीलगायतका बिरामी बढेका छन्।
‘बालबालिकाहरु र वृद्धावृद्धा उपचारका लागि आउने गरेका छन्’ उनले भने । जाडो बढे पछि जिल्लाका शैक्षिक संस्थाहरू पुस ३० गते सम्मका लागि बन्द गरिएका छन्। सबैभन्दा बढी गरिब, विपन्न तथा मजदुरी गरी दैनिक गुजारा चलाउँदै आएका परिवारहरू जाडो खप्न बाध्य छन् ।
शीतलहर र हस्सुले गर्दा आलु, टमाटर लगायतका तरकारी खेतीमा डडुवा रोगले क्षति पु¥याएको छ । चिसो बढे पछि चोक चोकमा आगो ताप्ने व्यवस्थाका लागि जिल्लाका पालिका र विभिन्न सामुदायिक वनले काठ दाउरा वितरण गरेका छन्।
प्रतिक्रिया