दाङ ।
लुम्बिनी प्रदेशमा सरकार गठनका लागि गठबन्धन दलहरुले आज दाबी पेस गर्ने भएका छन् । प्रदेश प्रमुखले बहुमतीय सरकार गठनका लागि दिएको समयसीमाभन्दा एक दिनअघि नै दलहरूले दाबी पेस गर्न लागेका हुन्।
प्रदेश प्रमुख अमिक शेरचनले पुस २७ गते ४ बजेसम्म सरकार गठनका लागि समय दिनुभएको थियो । प्रदेशको भागबण्डा टुङ्गिएपछि लुम्बिनीमा नेकपा (एमाले) ले मुख्यमन्त्री पाउने सहमति भएको छ । लुम्बिनीमा एमाले संसदीय दलका नेता एवम् पूर्वमन्त्री लीला गिरी मुख्यमन्त्री बन्ने सम्भावना छ ।
सोमवार हिजो दाङको देउखुरीमा एमाले संसदीय दलका नेता गिरीसहित सत्तापक्षीय गठबन्धनका नेताहरूको बैठकले आज मङ्गलवार ४ बजे सरकार गठनका लागि बहुमतसहितको दाबी पेस गर्ने सहमति गरेका थिए । बैठकमा ४९ सदस्यको समर्थनसहित सरकार गठनका लागि दाबी पेस गर्ने सहमति भएको एमालेका प्रदेश सभा सदस्य भूमिश्वर ढकालले जानकारी दिनुभयो ।
लुम्बिनी प्रदेशमा एमालेका २९, नेकपा (माओवादी केन्द्र) का १०, राप्रपाका चार, जसपा र जनमतका तीन-तीन सदस्य छन् । कुल ८७ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ४४ सिट आवश्यक पर्छ । नागरिक उन्मुक्तिका चार र स्वतन्त्रबाट दुई सदस्य निर्वाचित छन् । कांग्रेसका २७, लोसपाका तीन र नेकपा ९एकीकृत समाजवादी० र राष्ट्रिय जनमोर्चाका एक-एक सदस्य छन् ।
प्रतिक्रिया