९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

स्वास्थ्य क्षेत्र प्राथमिकतामा राख्दै बुद्धभूमि, १५ शैय्याको अस्पताल धमाधम बन्दै



मायादेवी अनलाइन, बुद्धभूमि ।
कपिलवस्तु बुद्धभूमि नगरपालिकाले १५ शैय्याको अस्पताल बनाउँदै छ । नगरको वडा नं. २ बडहरामा अस्पतालको काम धमाधम जारी छ ।

पूर्व-पश्चिम महेन्द्र राजमार्गको नजिकै बन्दै गरेको अस्पताल निर्माण दुई बर्ष भित्र गरिसक्ने नगरपालिकाको लक्ष्य छ । गएको असार देखि अस्पताल बनाउने काम धमाधम भइरहेको हो ।

बुद्धभूमिमा सुविधायुक्त सरकारी अस्पताल नहुँदा नगरबासीले सहज उपचार सेवा पाउन सकेका थिएनन् । नगर प्रमुख केशवकुमार श्रेष्ठले नगरमा अस्पताल बनाउने काम प्राथमिकतामा राख्नुभएको थियो ।

१५ शैय्याको अस्पताल निर्माण भएपछि नगर प्रमुख श्रेष्ठको एक सपना साकार हुने छ । दोस्रो कार्यकालका लागि बुद्धभूमिको नगर प्रमुख बन्नुभएका श्रेष्ठले नगरबासीलाई सुविधाजनक अस्पतालबाट सेवा दिन पाउनुहुनेछ ।

नगरले १२ करोड ५२ लाख बराबरको लागतमा अस्पताल बनाउन लागेको हो । ०७९ बैशाख १२ गते सम्झौता गरी ०८१ बैशाख ११ गते काम सकाउने ठेकेदारको लक्ष्य छ ।

कार्यविधि बनाएर नगरले अस्पताल संचालन गर्ने छ । विशेषज्ञ चिकित्सकको प्रबन्ध मिलाएर विरामीलाई सेवा दिने नगरको योजना छ । सुविधाजनक सरकारी स्वास्थ्य संस्थाको अभाव भएका बेला बुद्धभूमिले बनाउने अस्पतालबाट अन्य छिमेकी पालिकाले पनि लाभ लिन सक्नेछन् ।

नगर प्रमुख श्रेष्ठले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्दै आउनुभएको छ । पश्चिम नेपालको उत्कृष्ट सर्पदंश उपचार केन्द्र समेत बुद्धभूमिमा छ । यस अस्पताललाई नगरले लगानी लगाउँदै आएको छ । अस्पतालका कर्मचारी व्यवस्थापन देखि अत्यावश्यक उपकरण खरिदको काम नगरले गर्दै आएको हो ।

गर्भवती महिलालाई वर्थिङ सेन्टरसम्म निशुःक एम्बुलेन्स सेवा समेत बुद्धभूमिले दिदैं आएको छ । नगरका १० वटै वडामा स्वास्थ्य चौकीको प्रबन्ध छ । हरेक बर्ष वडातहमा पुगेर नगरबासीलाई निशुल्क स्वास्थ्य चेकजाँच गर्दै आएको बुद्धभूमिले जनाएको छ ।

प्रकाशित मिति : २६ पुस २०७९ मंगलबार ००:००  ७ : ५६ बजे