नेपालगन्ज ।
बाँकेमा सोमबारसम्म ९० जना बालबालिकामा दादुराको संक्रमण देखिएको छ । नेपालगन्ज उपमहानगरका जनस्वास्थ्य निरीक्षक जागेश्वर बस्नेतका अनुसार उपमहानगरका वडाहरुबाट नै ९० जना बालबालिकामा दादुरा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्यकर्मीहरूले ६ महिनादेखि १५ वर्ष उमेरका बालबालिकालाई तीन दिनदेखि दादुराको खोप लगाउन थालेका छन् ।
सोमबारसम्म २१ सय १९ जनाले खोप लगाएका छन् । स्वास्थ्य कार्यालयले १० हजार ९ सय ९६ जनालाई खोप लगाउने लक्ष्य राखेको छ ।
नेपालगन्ज उपमहानगरपालिकामा एक सातायता दादुरा महामारी फैलिएपछि बालबालिकाहरुलाई दादुरा रुवेला विरुद्धको खोप प्रदान गर्न सुरु गरिएको हो । उपमहानगरको १, ५, ७, ८, ९, १०, ११, १४, १५ र २२ मा दादुरा देखिएको हो ।
नेपालगन्ज उपमहानगरपालिका–५ मा दादुराले सिकिस्त भएका ३१ महिने बालकको पुस १३ मा मृत्यु भएको थियो ।
नेपालगन्ज उपमहानगरपालिकाभित्र महामारीको रुपमा फैलिएको दादुरा नियन्त्रण र व्यवस्थापनका लागि कार्ययोजनासहित प्रभावकारी ढंगले अगाडि बढ्न सरोकारवाला निकायहरुबीच छलफल भएको छ ।
नेपालगन्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखाको आयोजनामा भएको छलफल तथा अन्तरक्रिया कार्यक्रममा २३ वटै वडाका स्वास्थ्य चौकी इन्चार्जहरुलाई अभिमुखीकरणसमेत गरिएको छ ।
उपमहानगरका वडा नम्बर ५, ७, ८, १०, १५ र २२ का बालबालिकामा दादुरा धेरै देखिएको छ । नेपाल सरकारले सन् २०२३ सम्ममा दादुरालाई निवारण गर्ने लक्ष्य लिएको थियो ।
प्रतिक्रिया