मायादेवी अनलाइन, कृष्णनगर ।
कपिलवस्तुको कृष्णनगर नगरपालिकाको हिउँदे नगर सभा सकिएको छ ।
सोमबार नगरपालिकाको सभाहलमा नवौं नगर सभाले नगर प्रहरीको दरबन्दी स्वीकृत गरी चालू आर्थिक बर्षबाटै परिचालन गर्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत इश्वरी प्रसाद शर्माले बताए ।
साथै सभाबाट केही बजेटलाई रकामान्तर गरी थप योजना पारित गरिएको प्रमुख प्रशासकीय अधिकृत शर्माले जनाए ।
नगर सभामा शिक्षाको गुणस्तर कायम, स्वास्थ्य क्षेत्रमा अपेक्षित सुधार, बसपार्क व्यवस्थापन, सार्वजनिक क्षेत्रको संरक्षण, नगरबासीको शान्ति सुरक्षा स्थापना लगायतको प्रस्ताव नगरसभाबाट पारित गरिएको जनाइएको छ ।
सभामा बोल्दै नगर प्रमुख रजत प्रताप शाहले पूर्वाधार, शिक्षा र स्वास्थ्य प्राथमिकतामा राखेर काम गरिरहेको बताएका छन् ।
नगरको सार्वजनिक सम्पतिको संरक्षण, स्थानीय बजार व्यवस्थापन, विकासका योजनासहित आफू अगाडी बढेको नगर प्रमुख शाहले बताए ।
नगर भित्र छाडा चौपाया व्यवस्थापन, कृषकको लागि मल बीउँको उपलब्धता पनि आफ्नो प्राथमिकतामा रहेको उनले बताए ।
त्यस्तै चालू आर्थिक बर्षमा चालू आव २०७९।८० मा नगरपालिकाको रु ७६ करोड ३२ लाख मध्ये रु ४४ करोड २७ लाख खर्च भएको प्रतिवेदन प्रस्तुत गरिएको थियो ।
प्रतिक्रिया