१० मंसिर २०८१, सोमबार | Tue Nov 26 2024

थारु परम्परागत संस्कृति संरक्षणमा युवा सक्रिय



दाङ ।
तुलसीपुर–१२ रझेनीका श्याम चौधरी थारु समुदायले लगाउने कसौडी, भोटी, अंगियामा सजिएर नाचमा सहभागी थिए । २५ वर्षीय चौधरीसहितका युवा गाउँका हरेक कार्यक्रममा लुंगे नाच देखाउने तयारीमा छन् । माघीमा पनि युवाहरु नाच्ने तयारी गरेका छन् । “हामी युवाले नै अब थारु समुदायको संस्कार, संस्कृति संरक्षण गर्नुपर्छ”, उनले भने, “यो वर्षदेखि हामी आफैँ सक्रिय भएका छौँ ।”

योभन्दा पहिले सोही क्षेत्रमा युवाले थारु नाच नाच्दैनथे । परम्परागत रुपमा गरिने हरेक संस्कार, संस्कृति बिर्सिदैगएको अवस्था भएपछि यसलाई जोगाउन आफूहरु सक्रिय भएको उनले बताए । सोही ठाउँकी अस्मिता चौधरी पनि थारुको पोसाकमा सजिएकी थिइन् । युवतीहरुले पनि आफ्नै समूह बनाएर नाच गर्न थालेका छन् । “पहिले बूढापाकाले मात्रै नाच्नु हुन्थ्यो”, उनले भने, “अब हामी पनि यो नाचमा सक्रिय हुन थालेका छौँ ।”

यो वर्षदेखि आफूहरु नाच संरक्षणमा लागेको उनको भनाइ छ । थारु समुदाय संस्कार र संस्कृतिमा धनी भए पनि त्यसलाई जोगाउन नसक्दा लोप हुँदै जान थालेको भन्दै यसलाई संरक्षण गर्न आवश्यक रहेको उनले बताए । पछिल्लो समय युवाहरु थारु संस्कार, संस्कृति संरक्षणमा सक्रिय देखिएका छन् । जिल्लाका सबै स्थानीय तहले माघीको अवसरमा विशेष कार्यक्रम गर्दैआएका छन् । दाङ थारु समुदायको बाहुल्यता भएको जिल्ला हो । सबैजसो पालिका तथा वडामा माघी विशेष कार्यक्रम भइरहेको तुलसीपुर–१२ का वडाध्यक्ष खुसीराम चौधरीले बताए ।

“हामीले पनि माघी विशेष कार्यक्रम ग¥यौँ”, उनले भने, “सबैजसो पालिका र वडाले कार्यक्रम गर्नुहुन्छ, यसले पनि युवा थारु संस्कार, संस्कृति संरक्षणमा लाग्ने गर्नुभएको छ ।” तुलसीपुरमा मात्रै एक सय २७ थारु समुदायका गाउँ छन् ।

थारु समुदायले झुम्रा, सखिया, लठ्ठहवा, मुङ्गहवा, हुर्दङवा, मघौटा, बर्का नाच लगायतका नाच नाच्ने गर्छन् । माघी नजिकिँदै गर्दा गाउँगाउँमा माघी विशेष कार्यक्रम भइरहेका छन् । माघीको रौनक बढिरहेको छ । आफ्नो भेषभुषामा थारु समुदाय सजिरहेका छन् । थारु समुदायका मीठो पाकवान पनि पाकिरहेका छन् । रासस

प्रकाशित मिति : २५ पुस २०७९ सोमबार ००:००  ६ : ५७ बजे