१० मंसिर २०८१, सोमबार | Tue Nov 26 2024

ओलीले आफ्नो स्वार्थ पूरा गरेपछि प्रचण्डलाई धोका दिन्छन् : पूर्वराजदूत उपाध्याय



बुटवल ।

नेपाली कांग्रेसका नेता एंव भारतका लागि नेपालका पूर्वराजदूत दिपकुमार उपाध्यायले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो स्वार्थ पूरा गरेपछि पुष्पकमल दाहाललाई धोका दिने ठोकुवा गरेका छन् ।

उपाध्यायले एमालेले राष्ट्रपति र सभामुख लगायत महत्त्वपूर्ण पद प्राप्त गर्नका लागि विश्वासको मत दिने र त्यसपछि साथ छोड्ने जिकिर गरे ।

रिपोर्टर्स् क्लब नेपाल लुम्बिनी प्रदेश कार्यालयले बुटवलमा शनिबार आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै पूर्वरजदूत उपाध्यायाले भर्खरै सम्पन्न निर्वाचनले नेपालको पुरानो पार्टी कांग्रेससहित दलहरु समेत कमजोर बनेको भन्दै समयमै सचेत भएर अगाडि बढ्नुपर्ने बताए ।

उपाध्यायले दलहरुभित्र रहेको भागवण्डा, गुटबन्दी नैतिक मुल्य मान्यतामा ह्रास हुँदै गएकाले देशको राजनीतिक, आर्थिक र सार्वभौम अवस्था जटिल अवस्थामा पुगेको बताए ।

तत्कालीन गठबन्धनमा पुष्पकमल दाहालले प्रधानमन्त्री दाबी गर्दा अन्य दलहरुले महत्त्वपूर्ण पदमा दाबी गर्नु स्वाभिक रहेको भन्दै यो सरकारले विश्वासको मत ल्याउने कुरामा शंका व्यक्त गरे ।

उनले चरम कूु राजनीतिक मौलाउँदै गएकाले विरक्त भएर आफू अहिले सक्रिय राजनीतिबाट बिश्राम लिएको पनि उनको भनाइ थियो । उनले देशको खलबलिएको स्थिति जोगाउन पुराना दलहरु सच्चिन जरुरी रहेको उल्लेख गर्दै पछिल्लो राजनीतिक घटनाक्रमले दलका नेताहरुले विचारको राजनीतिभन्दा सत्ता स्वार्थमा निहित भएर राजनीति गरेको टिप्पणी गरे ।

नेपालमा गठबन्धन लोकतान्त्रिक मुल्य मान्यता विपरीत भएको उल्लेख गर्दै पूर्वमन्त्रीसमेत रहेका उपाध्यायले सशस्त्र जनयुद्धका बेला माओवादीको एउटै मात्र एजेण्डा राजतन्त्र फाल्नुपर्ने भए पनि पछि विदेशी शक्तिहरुले गणतन्त्र, धर्मनिरपेक्षता र संघीयतालाई देशमा छिराएर देशमा अस्थिरता ल्याउने काम गरेको आरोप लगाएका थिए । उनले राजनीतिक दलहरुको दूरदर्शिताको अभावले विदेशी शक्ति केन्द्रहरुले चलखेल गरेको भन्दै यस्तै अवस्था रहिरहे देश ठूलो संकटमा फस्ने ठोकुवा गरे ।

प्रकाशित मिति : २३ पुस २०७९ शनिबार ००:००  ४ : ०५ बजे