१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

नेपालगञ्जमा दादुरा नियन्त्रण अभियान तीव्र, ८७५ लाई खोप लगाइयो



नेपालगञ्ज ।

बाँकेको नेपालगञ्ज उपमहानगरपालिकामा दादुराको महामारी फैलिएपछि सो नियन्त्रण अभियानलाई तीव्र पारिएको उपमहानगरको स्वास्थ्य शाखाले जनाएको छ ।

गत सातादेखि फैलिएको दादुराले नेपालगञ्जमा एक बालकको मृत्यु भइसकेको छ भने ३६ जना भन्दा बढी बिरामी फेला परेका छन् । शङ्कास्पद बिरामी बालबालिकाको सङ्ख्या अझै धेरै छ ।

समुदायस्तरमै दादुरा प्रभावित बालबालिकाको सङ्ख्या बढ्दै गएपछि सो रोक्न नौ महिनादेखि १५ वर्ष उमेरभित्रका बालबालिकालाई खोप लगाउन शुरु गरिएको नेपालगञ्ज उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दले बताउनुभयो ।

दादुराबाट सबैभन्दा बढी प्रभावित वडाहरु वडा नम्बर ५, ७ र ८ मा सबैभन्दा पहिले खोप लगाउन शुरु गरिएको प्रमुख चन्दले जानकारी दिनुभयो । यी वडाहरुमा दादुरा प्रभावित बालबालिका बढी भेटिएका छन् ।

उपमहानगर स्वास्थ्य शाखाका अनुसार वडा नम्बर ५, ७ र ८ स्थित सहरी स्वास्थ्य क्लिनिक र वडा नम्बर ८ स्थित आइडियल स्कुलमा खोप केन्द्र सञ्चालन गरिएको छ । यी वडाका करिब चार हजार ५०० बालबालिकालाई खोप लगाउने लक्ष्य रहेको जनाइएको छ ।

दादुरा देखिएका अन्य वडाहरु ९, १०, ११, १४, १५ र २२ मा पनि खोप अभियान चलाउने तयारी भइरहेको स्वास्थ्य शाखाले जनाएको छ । अभियान सबै वडामा पु¥याउने तयारी रहेको शाखाका प्रमुख चन्दले जानकारी दिनुभयो ।

नेपालगञ्जमा ५ वर्षमाथिका बालबालिकामा दादुराको प्रकोप देखिएकाले नौ महिनादेखि १५ वर्ष उमेरका सबै बालबालिकालाई खोप लगाइने जनाइएको छ ।

नेपालगञ्ज उपमहानगरपालिकाले दादुरा देखिएका बालबालिकालाई घरमै छुट्टै राखेर उपचार गर्ने र गम्भीर बिरामी भएकालाई अस्पताल लैजाने व्यवस्था मिलाएको उपमहानगरका उपमेयर कमरुद्दिन राईले बताउनुभयो ।

उहाँले दादुरा महामारी फैलिएको पुष्टि हुनासाथ स्वास्थ्यकर्मीलाई प्रभावित क्षेत्रमा खटाएर उपचार, खोजी तथा सचेतना कार्यक्रम शुरु गरिएको जनाउँदै महिला स्वास्थ्य स्वयंसेविकालाई पनि वडाहरुमा परिचालन गरिएको बताउनुभयो ।

एक्कासि वडा नम्बर ७ को एकै परिवारका पाँच जना बालकमा देखिएको दादुरा नगरका अधिकांश वडामा फैलिएको छ । दादुराबाट वडा नम्बर ५ का सलामत शेषका ३१ महिनाका छोराको मृत्यु भइसकेको छ भने ३६ जनामा दादुरा पुष्टि भइसकेको छ ।

दादुरा महामारी नियन्त्रणका लागि खोप अभियानसँगै बिरामीको खोजी र सचेतना अभियान पनि सञ्चालन गरिएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

प्रकाशित मिति : २३ पुस २०७९ शनिबार ००:००  ३ : ५२ बजे