मायादेवी अनलाइन, बाणगंगा ।
कपिलवस्तु बाणगंगा नगरपालिकाको १२ औं नगर सभा पुस २९ मा बस्ने भएको छ ।
शुक्रबार बसेको नगरकार्यापालिका बैठकले उक्त सभाको मिति तय गरेको हो । बैठकले यही पौष २९ गते १ बजे १२ औं नगर सभा नगरपालिकाको सभाहलमा गर्ने निर्णय गरेको नगरका प्रवक्ता विष्णु प्रसाद पौडेलले जानकारी दिए ।
साथै कार्यपालिका बैठकले विभिन्न महत्वपूर्ण निर्णय गरेको छ । बैठकले संघमा माग्ने दुई किसिमका योजनाका बारेमा समेत निर्णय गरेको छ ।
प्रवक्ता पौडेलका अनुसार विशेष योजना अन्तर्गत नगरका ३ वटा विद्यालय तथा वडा नम्बर ६ को पूर्वाधार निर्माण र समपुरक योजनातर्फ घेरुवा बनगाई–मोतिपुर–कपिलधाम सडक र वैदौली– कोपवा–देउवापार्क सडक रहेका छन् ।
नगर सभामा पेसका लागि रकमान्तर संशोधन गर्नुपर्ने र विभिन्न विधेयकहरुको बारेमा विषयगत समितिहरुले बैठक बसेर तयारी गर्ने छन् । नगर सभाको अघिल्लो दिन पुस २८ गते कार्यापालिकाको बैठक बस्ने र सोही बैठकले नगर सभामा पेस गर्ने प्रस्तावहरु परित गर्ने निर्णय भएको प्रवक्ता पौडेलले जानकारी दिए ।
यस्तै बैठकले शितलहरको व्यवस्थापन गर्न वडाध्यक्षहरुलाई आ-आफ्नो वडामा सामुदायिक वनहरुसंग समन्वय गरी दाउरा वितरणको व्यवस्थापन मिलाउन जिम्मेवारी दिएको छ ।
प्रतिक्रिया