मायादेवी अनलाइन, जितपुर ।
आगामी माघ १७ गतेदेखि २९ गतेसम्म हुने १३ औं कपिलवस्तु महोत्सवको तयारी सुरु भएको छ ।
बाणगंगा ४ मा रहेको बुद्धरंगशालामा हुने महोत्सव स्थललाई आकर्षक बनाउन अहिले कामदारहरु दैनिक खटिरहेको छन् । हाल ब्राउन्ड्री निर्माणको काम सम्पन्न भएको महोत्सवको संयोजक समेत रहेका कपिलवस्तु उद्योग बाणिज्य संघका अध्यक्ष डोलकराम घिमिरेले बताए ।
उनले प्रवेशद्धार, स्टल निर्माण स्थल, सचिवालय निर्माणको काम अहिले चलिरहेको बताए । उनले महोत्सव उद्घाटनको दिन भन्दा ५ दिन अघि नै सक्ने गरि तयारीका कामहरु सुरु भएको बताए । अहिले महोत्सवमा करिब ३५० स्टल रहने उनले बताए । स्टलको सम्पुर्ण जिम्मा मदन पौडेललाई दिएको बताउँदै उनले भने, स्थानीय स्तरका उत्पादन, उद्योगी व्यवसायीलाई महोत्सवमा विशेष स्थान दिईने छ ।
विभिन्न आवश्यक समितिहरु गठन गरि कामहरु तीब्र गतिमा अघि बढेको कपिलवस्तु उद्योग बाणिज्य संघका महासचिव मनोज पौडेलले बताए । महोत्सवले यस क्षेत्रको व्यापार, व्यवसायदेखि पर्यटन प्रवद्र्धनमा जोड दिने उनको भनाई छ ।
यस अघि १३औं कपिलवस्तु महोत्सव मंसिर १९ गतेदेखि नै संचालन गर्ने भनिएको थियो । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन तथा अन्य विविध कारणले महोत्सव उक्त मितिमा संचालन गर्न नसकेको आयोजकले जनाएको थियो ।
प्रतिक्रिया