तौलिहवा ।
कपिलबस्तुमा ९० क्युफिट काठसहित सव–डिभिजन वन कार्यालय खरेन्द्रपुरले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्ने शिवराज नगरपालिका–३ स्थित भितारिया बस्ने वर्ष २१ का रुपेश थारु रहेका छन् ।
बरामद गरिएका काठमा विभिन्न साइजका ९२ थान चिरान छ । सहायक वन अधिकृत एजाज अन्सारीको कमाण्डमा नेपाल प्रहरी र सशस्त्र वन रक्षकसहित भितारिया पुगेको टोलीले खोजतलास गरी काठ बरामद गरेको थियो । छापा मार्ने क्रममा भितारिया अधिकांशको घर आँगनबाट लुकाएर राखेको अवस्थामा उक्त चिरान काठ बरामद भएको डिभिजन वन कार्यालय गौतम बुद्धका प्रमुख दधिलाल कँडेलले बताउनुभयो ।
बरामद काठ कपिलवस्तु साझेदारी बन समितिको जङ्गलबाट चोरी गरी ल्याइएको प्रारम्भिक अनुमान छ । तस्करको पहिचान खुलेकाले तस्करविरुद्ध मुद्दा दर्ता गरी कारवाही अघि बढाइने डिभिजन वन कार्यालयले जनाएको छ । वन नियन्त्रण गर्नका लागि विशेष योजनाका साथ टोली परिचालन गरेको उहाँले बताउनुभयो ।
भितारियाको ६ घरमा छापा मार्दा सालको काठ र कर्मा जातको काठ बरामद गरेको डिभिजन वन कार्यालय (गौतम बुद्ध)ले जनाएको छ । बरामद काठ डिभिजन वन कार्यालय गौतम बुद्धलाई बुझाइएको छ ।
प्रतिक्रिया