९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

सेवा प्रवाहलाई प्रभावकारी बनाउँदै रमेश गौतम, नगरबासीको मन जित्दै बुद्धभूमि



मायादेवी अनलाइन, बाणगंगा ।
कपिलवस्तुको बुद्धभूमि नगरपालिकाले प्रशासनिक कामलाई प्रभावकारी बनाउँदै लगेको छ । ‘सरकारी काम कहिले जाला घाम’ जस्ता उखानलाई निरुत्साहित पार्दै बुद्धभूमिले सेवा प्रवाहलाई प्रभावकारी बनाउँदै लगेको हो ।

‘घरदैलोको सरकारका रुपमा रहेको स्थानीय तहलाई प्रभावकारी बनाउँनुपर्ने अहिलेको स्थिति हो’, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश गौतम भन्छन्, ‘बुद्धभूमिमा हामी सेवा प्रवाहलाई सहज बनाउन लागि परेका छौं ।’

नागरिकका अधिकांश सरकारी काम स्थानीय तहबाट हुँदै आएका छन् । संविधानले नै स्थानीय तहलाई थुप्रै अधिकार प्रत्यायोजन गरेको छ । गाउँ-गाउँको सरकारका रुपमा रहेको स्थानीय तह पुरानै शैलीबाट चल्दा सेवाग्राहीले सोचेजस्तो अनूभुति गर्न सकेका छैनन् । तर बुद्धभूमि नगरपालिका यसमा जिम्मेवार देखिन्छ ।

नगर प्रमुख केशव कुमार श्रेष्ठको निर्देशनमा नगरको सेवा प्रवाह चुस्त नगरका कर्मचारी बताउँछन् । ‘नगर प्रमुखको निर्देशन र हाकिमको काम गरौं भन्ने भावनाले सेवा प्रवाह प्रभावकारी बनेको हो,’ एक जना नगरका कर्मचारीले मायादेवीलाई भने ।

नगरबाट हुने अधिकांश कामलाई सहज बनाउनका लागि कर्मचारीतन्त्रको आचरण सुधार, तालिमको प्रबन्ध, कर्मचारी प्रोत्साहन जस्ता कार्यक्रम लागू गरिएको प्रमुख प्रशासकीय अधिकृत गौतमले बताए ।

बुद्धभूमि नगरपालिकाले वडातहलाई दुई लाखसम्मको योजना सम्झौताको अख्तियारी प्रदान गरेको छ । नगरपालिकाले गएको आवदेखि यो कामको सुरुवात गरेको थियो । यो कामको सुरुवात बुद्धभूमिले जिल्लामा पहिलो पटक गरेको थियो । वडाबाट विनियोजित साना-साना बजेट पनि नगरपालिकामा पुगेर सम्झौता गर्नुपर्दा सेवाग्राहीले सास्ति खेप्न बाध्य थिए ।

योजना सम्झौताका लागि लामो दुरी पार गर्दै नगरपालिका आउनुपर्ने बाध्यता थियो । उक्त बाध्यताको अन्त्य गर्दै बुद्धभूमिले दुई लाखसम्मका योजनालाई वडामै सम्झौता गर्ने प्रबन्ध मिलाएको थियो ।

बुद्धभूमिले प्रविधिको उच्चतम प्रयोग गरी सेवाप्रवाह गरिरहेको छ । वडा-वडामा इन्टरनेटको प्रयाप्त प्रबन्ध मिलाएको छ भने नगरपालिकाको प्राङ्गण भित्रै राष्ट्रिय बाणिज्य बैंकको शाखा राखेको छ । नगरपालिका भित्रै राष्ट्रिय बाणिज्य बैंकले सेवा दिँदा सेवाग्राहीलाई सहज भएको छ ।

नगरपालिकाले भुक्तानी प्रक्रियालाई पनि प्रभावकारी बनाएको छ । नगरपालिकाका लेखा प्रमुख रेनुराम ज्ञवालीले शाखामा भुक्तानीका लागि आएको फाइल हेरेर ५ मिनेट भित्रै चेक दिने गरेका छन् । शाखागत रुपमा आएका फाइललाई लेखा शाखामा पुग्दा वित्तिकै भुक्तानी दिने गरिएको छ । भुक्तानीका लागि हप्तौ नगरपालिका धाउनुपर्ने बाध्यताको अन्त्य भएको बुद्धभूमि ९ का स्थानीय प्रताप थारुले बताए ।

नगरपालिकाले चालु आर्थिक बर्षमा वडा वडामा पुगेर योजना सम्झौता गरिरहेको छ । नगरका प्रमुख प्रशासकीय अधिकृत गौतम नै वडा वडामा पुगेर योजनाको सम्झौता गरिरहेका छन् । उपभोक्ताबाट हुने कामका लागि सम्झौता गर्न नगरपालिका पुग्नुपर्ने बाध्यताको अन्त्य भएको गौतमले बताए ।

नगरपालिकामा सधैं भेटिन्छन् गौतम
कतिपय स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत कार्यकक्षमै भेटिदैनन् । कुनै बाहना बनाएर काम भन्दा बढी विदामा बस्ने गरेका तथ्य छन् । तर, बुद्धभूमिका प्रमुख प्रशासकीय अधिकृत गौतम कार्यालय भित्रै भेटिन्छन् । नगरको अनुगमनको काम बाहेक अन्य समय उनी आफ्नै कार्यकक्षमा भेटिन्छन् ।

कार्यालय प्रमुख नहुँदा सेवा प्रवाहमा समस्या हुनेमा उनी जानकार छन् । हाकिम नै कामकाजी नहुँदा कार्यालयका धेरै काम प्रभावित भएका हुन्छन् । अरु कर्मचारीलाई कामकाजी गराउनका लागि पनि आफू कामकाजी बन्नुपर्छ, ‘गौतम भन्छन् ।’

लामो समय स्थानीय तहमा काम गरेको अनुभव गौतम सामु छ । काठमाडौं भित्रको स्थानीय तहमा काम गरिसकेका गौतम हालै मात्र बुद्धभूमि आएका हुन् ।

नगरपालिकाका नगर प्रमुख केशव कुमार श्रेष्ठले कर्मचारीको काम प्रति आफू सकारात्मक भएको बताए । नगरको काम जनप्रतिनिधि र कर्मचारीको संयोजनले मात्र धेरै गर्न सकिने भन्दै यसमा कर्मचारीलाई कामकाजी बनाउन आफूहरु प्रयासरत भएको नगर प्रमुख श्रेष्ठले बताए । कर्मचारीको क्षमता विकासका लागि पनि नगरपालिकाले लगानी गरिरहेको उनको भनाई छ । राम्रो काम गर्ने कर्मचारीलाई प्रोत्साहनको सुविधा दिने गरिएको उनले बताए ।

प्रकाशित मिति : २० पुस २०७९ बुधबार ००:००  ६ : ५४ बजे