१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

बिष्णु पन्थी भन्छन्ः बाणगंगामा प्रदेशस्तरको पानी परिक्षण ल्याब छिट्टै सुचारु हुन्छ



मायादेवी अनलाइन, बाणगंगा ।
लुम्बिनी प्रदेश सभा सदस्य बिष्णु पन्थीले बाणगंगामा पानी परिक्षणको लागि बनाइएको प्रदेश स्तरको ल्याब छिट्टै सुचारु हुने दाबी गरेका छन् ।

केही दिनमै प्रदेश सरकार गठन हुने र उक्त सरकारले ल्याब सुचारुका लागि आवश्यक काम गर्ने उनको विश्वास छ ।

बाणगंगा र गजेहडा भुपु सैनिक खानेपानी तथा सरसफाई उपभोक्ता समितिको ८ औं बार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनलाई मंगलबार सम्बोधन गर्दै सांसद पन्थीले भने, ‘खानेपानी संस्थाको सुव्यवस्थाका कारणले प्रदेशस्तरको ल्याब स्थापित गरियो । अब मात्र कर्मचारीको अभाव छ । अब बन्ने सरकारले अविलम्व कर्मचारीको व्यवस्था गरेर सुचारु गर्छ ।’

कपिलवस्तुको दक्षिणी क्षेत्रमा खानेपानीमा गरिएको लगानीअनुसार प्रतिफल प्राप्त गर्न नसकिएको उनले बताए । पछिल्लो समयमा बाणगंगा बसाईसराइको केन्द्र बनेको भन्दै पानी विना मानव जीवन सम्भव नभएको बताए । उनले थपे, ‘हामीले संविधानमा शुद्ध पानी पिउन पाउनु नागरिकको अधिकार हो भनेर लेख्यौं तर त्यो अझै पुरा हुन सकेको छैन् ।’

उनले ‘एक घर, एक धारा’ अभियान अन्तर्गत लुम्बिनी प्रदेश सरकारको महत्वपूर्ण बजेट लगानी गरेको स्मरण समेत गरे ।

बाणगंगा र गजेहडा भुपु सैनिक खानेपानी लुम्बिनी प्रदेशकै नमुना खानेपानी आयोजनाका रुपमा रहेको भन्दै खुशी व्यक्त गरे ।

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाका विनोद कुमार भुजेल, प्रदेश खानेपानी कमिटीका संयोजक थान प्रसाद गैरे, बाणगंगा नगरपालिकाकी उपमेयर रिता कुमारी चौधरी, कपिलवस्तु उद्योग बाणिज्य संघका अध्यक्ष डोलकराम घिमिरे, कपिलवस्तु नागरिक समाजका अध्यक्ष दोलक पछाई लगायतले कार्यक्रमलाई सम्बोधन गर्दै बाणगंगा र गजेहडा भुपु सैनिक खानेपानी कपिलवस्तुकै ठूलो र व्यवस्थित खानेपानी भएको बताएका थिए ।

उनीहरुले उपभोक्तालाई सुरक्षित खानेपानी उपलब्ध गराउन यस खानेपानी सफल हुनेमा विश्वास व्यक्त गरे ।

बाणगंगा र गजेहडा भुपु सैनिक खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष राजेन्द्र विक्रम शाहले अझै पनि धेरैले खानेपानीको महत्व बुझ्न नसकेको बताए । स्थानीय सरकारदेखि संघीय सरकारले जनतासम्म सुरक्षित खानेपानी पुर्याउन थप लगानीसंगै चासो देखाउन जरुरी रहेको उनको भनाई छ ।

उनले पानीको अभावमा मानिसको जीवन रक्षा हुन नसक्ने बताउँदै उनले भने, ‘पानी विना मानव जिवनको कल्पना पनि गर्न सकिदैन् । पानी विना जीवनयापन हुन सक्दैन् ।’

कार्यक्रममा सचिव कृष्ण बहादुर शाहीले बार्षिक प्रगति प्रतिवेदन, कोषाध्यक्ष राममाया रानाले आर्थिक प्रतिवेदन, लेखा समितिका संयोजक कमल पौडेलले आन्तरिक लेखा परिक्षण प्रतिवेदन, पानी सुरक्षा समितिका संयोजक निर्मल शाहीले पानी सुरक्षा समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति : २० पुस २०७९ बुधबार ००:००  ६ : २९ बजे