१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

माण्डवी गाउँपालिकाको प्रथम चौमासिक सार्वजनिक सुनुवाइ



टोपराम केसी, प्युठान ।

प्यूठानको माण्डवी गाउँपालिकाले समग्र विकास र समृद्धिमा फड्को मार्ने क्रम सुरु भैसकेको गाउँपालिका अध्यक्ष नमराज अधिकारी रोसनले वताउनु भएको छ ।

गाउँपालिकाको समग्र विकास र समृद्धिका लागि सम्वद्ध सवै निकायहरु उत्तिकै जिम्मेवार भएको पनि उहाले बताउनुभयो ।
गाउँपालिकाको सभाहल देविस्थानमा सोमबार सम्पन्न प्रथम चौमासिकको सार्वजनिक सुनुवाइ कार्यक्रममा उठेका प्रश्न एवम् जिज्ञासाहरुको सवाल जवाफका क्रममा पालिका अध्यक्ष रोसनले यस्तो बताउनु भएको हो ।

यस्तै उहाँले गाउँपालिकाका हरेक गतिविधि राजनितीक पुर्वाग्रह अनुसार अगाडि वढेको भन्ने कुरा सरासर झुटो र कपोकल्पित मात्र भएको स्पष्ट पार्नुभयो ।

गाउँपालिका सरकार आम माण्डवी वासीहरुको माग, आवस्यकता र समस्या पूरा गर्न पुर्ण रुपले प्रतिवद्ध रहेको उहाँको दावी थियो ।

विभिन्न शिर्षक र क्षेत्र अनुसार विनियोजित वजेटको आकार र अवस्था अनुसार त्यस तर्फ पालिका सरकार केन्द्रित भएको समेत उहाँले दाबी गर्नुभयो ।

यता गाउँपालिकाले निःशुल्क स्वास्थ्य विमा, पशुविमा, आधारभुत तहसम्मको शिक्षा निःशुल्क लगाएका उदाहरणीय र महत्वकांक्षी कार्यहरुको प्रारम्भ गरेको पनि बताउनु भयो ।

स्थानीय सरकार ऐन, कानुन र विधि भन्दा बाहिर रहेर चल्न नसक्ने संकेत गर्दै सरकारका गतिविधिहरु त्यस भन्दा फरक वाटोमा केन्द्रित हुन गएको पाईए सरकारलाई तह लगाउन उहाँको चुनौती थियो ।

साथै राजनितिक रुपमा आग्रह र पुर्वाग्रही रुपले सरकारका कामकाज माथि अनावश्यक टिप्पणी नर्गन पनि उहाँको सुझाव थियो ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत प्रकाश पाण्डेले गाउँपालिकाको प्रथम चौमासिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

प्रमुख प्रशासकीय अधिकृत पाण्डेका अनुसार प्रथम चौमासिक अवधिभर १९% मात्र विकास वजेट खर्च भएको पाईएको छ ।
विकास निर्माणकार्य को मुख्य वाधक नै प्राकृतिक विपद् भएको उहाँको निष्कर्ष थियो । यद्यपि केही योजना भने सम्झौता पश्चात् कार्यान्वयनमा गैसकेको उहाँले स्पष्ट पार्नु भयो ।

कार्यक्रममा शिक्षा, स्वास्थ्य, सडक, पुर्वाधार, कृषि, खानेपानी तथा सिंचाइ लगाएतका विषयमा सहभागिहरुले सवाल उठाएका थिए ।

गाउँपालिका उपाध्यक्ष पुर्ण प्रसाद कालाथोकीको स्वागत मन्तव्य रहेको कार्यक्रममा नेपाल पत्रकार महासंघ जिल्ला शाखा प्युठानका अध्यक्ष सन्जय रिजालले कार्यक्रमको समग्र उद्देश्य, औचित्य तथा सान्दर्भिकताका विषयमा स्पष्ट पार्नु भएको थियो ।

कार्यक्रमा जनप्रतिनिधि, गाउँपालिकामा कार्यरत कर्मचारी, शिक्षक, स्थानीय राजनितीक दलका प्रमुख तथा प्रतिनिधिहरु, पत्रकार, सुरक्षा निकायका प्रतिनिधि, स्थानीय समाजसेवी तथा वुद्धिजीवि, उद्योगी तथा व्यवसायी लगाएको उपस्थिति रहेको थियो ।

नेपाल पत्रकार महासंघ प्युठानको सहजीकरण रहेको कार्यक्रमको सञ्चालन पत्रकार महासंघ प्युठानका कोषाध्यक्ष प्रज्वल पहाडीले गर्नु भएको थियो ।

प्रकाशित मिति : १९ पुस २०७९ मंगलबार ००:००  ६ : ३७ बजे