२१ असार २०८१, बिहिबार | Thu Jul 4 2024

नारायणगढ–मुग्लिन सडक आजदेखि दैनिक ४ घन्टा बन्द गरिँदै



चितवन ।

नारायणगढ–मुग्लिन सडक मंगलबारदेखि दैनिक चार घन्टा बन्द गरिँदैछ। कठिन किसिमको भौगोलिक बनावट रहेका केही क्षेत्रमा पुल निर्माणका लागि पहरो फोर्नुपरेकाले सडक बन्द गर्न लागिएको नारायणगढ–मुग्लिन सडक आयोजनाका प्रमुख किरण कार्कीले बताए।

कडा चट्टानसहितको पहाड फोरेर पुल निर्माण गर्नुपर्ने भएकाले सुरक्षालाई मध्यनजर गरेर बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सडक बन्द गर्नुपरेको उनले बताए।

कार्कीका अनुसार उक्त सडकका तुइन खोला, चिसेन्जी खोला, कालीखोला र सिमलताल खोलामा पुल निर्माण गर्न भौगोलिक अवस्थाका कारण कठिन भइरहेको छ।

ती चारमध्ये पनि तुइन र चिसेन्जी खोलामा पुल निर्माण गर्न ठूलो चुनौती छ। चिसेन्जीको पहरो ब्रेकर लगाएर फोर्ने काम भइरहेको छ, तुइनको मंगलबारबाट सुरू गर्छौं, कार्कीले भने।

उपल्लो भागबाट पहरो फोर्दा ठाडो भिरको तल रहेको सडक असुरक्षित हुने भएकाले यातायात रोक्नुपरेको उनले बताए।

कार्कीले चिसेन्जीको नारायणगढतर्फको पहाड फोर्नुपर्ने, कालीखोला र सिमलतालको पनि केही पहरो फोर्नुपर्ने बताए।

नारायणगढ–मुग्लिन सडकमा पर्ने १९ वटामध्ये चार वटा पुल बनिसकेका छन्। बाँकी १५ वटा पुल बनिरहेका छन्। ती मध्ये तीन वटा पुलको निर्माण कार्य अन्तिम चरणमा पुगेको कार्कीले बताए। सेती दोभान, डुम्रे र लामो बालुवा पुल अबको तीन महिनामा सञ्चालनमा ल्याउने तयारी आयोजनाको छ।

प्रकाशित मिति : ५ पुस २०७९ मंगलबार ००:००  ७ : २९ बजे