काठमाडौं ।
क्रोएसियाले कतारमा जारी फिफा विश्वकप फुटबलमा तेस्रो स्थान हासिल गरेको छ ।
शनिबार राति भएको खेलमा मोरक्कोलाई २–१ गोल अन्तरले हराउँदै क्रोएसियाले तेस्रो स्थान हासिल गरेको हो ।
मोरक्कोले भने कतार विश्वकपमा चौंथो स्थान हासिल गरेको छ ।
रोमान्चक खेलमा क्रोएसियालाई जित दिलाउन जोस्को गार्भाडिओल र मिस्लाभ ओरिसिचले एक एक गोल गरे ।
मोरक्कोका अच्राफ दारीले एक गोल फर्काए । खेलको सातौं मिनेटमा इभान पेरिसिचको पासमा जोस्कोले हेडरमार्फत गोल गर्दै क्रोएसियालाई सुरुआती अग्रता दिलाएका थिए ।
तर, खेलको नवौं मिनेटमा दारीले गोल गर्दै मोरक्कोलाई १–१ गोलको बराबरीमा ल्याए । त्यसपछि खेलको ४२ औं मिनेटमा सोरिसिचले लिभाजाको पासमा गोल गर्दै क्रोएसियालाई २–१ को जित दिलाए ।
सेमिफाइनलमा पराजित भएपछि क्रोएसिया र मोरक्कोबीच तेस्रो स्थानका लागि प्रतिस्पर्धा भएको हो । सेमिफाइनलमा साविक उपविजेता क्रोएसियालाई अर्जेन्टिनाले ३–० ले हराएको थियो ।
अफ्रिकी राष्ट्र मोरक्को सेमिफाइनलमा साविक विजेता फ्रान्ससँग २–० ले पराजित भएको थियो । कतार विश्वकपको उपाधिका लागि भने फ्रान्स र अर्जेन्टिनाबीच प्रतिस्पर्धा हुनेछ । फाइनल खेल आइतबार हुनेछ ।
प्रतिक्रिया