७ मंसिर २०८१, शुक्रबार | Fri Nov 22 2024

कपिलवस्तुमा इतिहासमै बलियो शक्ति बन्यो एमाले



मायादेवी अनलाइन, बाणगंगा ।
कपिलवस्तुमा नेकपा एमाले बलियो राजनीति शक्तिका रुपमा उदाएको छ । गत मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा दुई प्रतिनिधि सभा र चार प्रदेश सभा सदस्यमा निर्वाचन जित्दै एमाले बलियो शक्तिका रुपमा उदाएको हो ।

कम्युनिष्ट पार्टीले जिल्लामा इतिहासमै सबैभन्दा बढी सिट जित्न सफल भएको निर्वाचन नै यही भएको छ । चुनावमा एकल चुनावी प्रतिस्पर्धामा उत्रिएको एमालेले बलियो शक्तिको रुपमा रहेको बाम–लोकतान्त्रिक गठबन्धनलाई पराजित गर्न सफल भएको हो ।

नेपालमा बहुदल आए पश्चात भएका हरेक चुनाव नियाल्दा एमालेले २०७९ सालको निर्वाचनमा पहिलो पटक धेरै सांसद जित्न सफल भएको छ ।

बहुदलीय व्यवस्था आएपछि भएका २०४८, २०५१, २०५६, २०६४, २०७०, २०७० का चुनावसम्म यो जिल्ला लोकतान्त्रिक शक्तिको दबदबा भएको जिल्ला मानिन्थ्यो ।

२०४८ सालको निर्वाचनमा तीन निर्वाचन क्षेत्र रहेको यहाँ क्षेत्र नं. १ मा नेपाली कांग्रेसबाट कमलेश शर्मा, क्षेत्र नं. २ मा कांग्रेसकै दीपकुमार उपाध्याय र क्षेत्र नं. ३ मा सद्भावना पार्टीका मिर्जा दिलसाद बेगले चुनाव जितेका थिए ।

२०५१ को मध्यावधि निर्वाचनमा पनि तीनै जना सांसद दोहोरिएका थिए । मिर्जाले भने ०५१ को चुनाव राप्रपाबाट जितेका थिए ।

२०५६ को निर्वाचनमा क्षेत्र नं. १ जित्दै एमालेले इतिहासमै पहिलो जित निकालेको थियो । तत्कालिन दानबहादुर चौधरी एमालेबाट चुनाव जित्ने पहिलो सांसद थिए ।

क्षेत्र नं. २ मा लगातार दुई चुनाव जित्ने उपाध्यायलाई हराउँदै राप्रपाका बृजेशकुमार गुप्ता विजयी भएका थिए । क्षेत्र नं. ३ मा राप्रपाका अजय प्रताप शाहले चुनाव जितेका थिए ।

देशमा गणतन्त्र स्थापना भए पश्चात भएको २०६४ को पहिलो संविधान सभा निर्वाचनमा जिल्लामा ५ निर्वाचन क्षेत्र कायम रह्यो । देशभर नेकपा (माओवादी) को दबदबा रहेपनि जिल्लाका कुनै क्षेत्रमा कम्युनिष्ट पार्टीले जित निकाल्न सकेनन् ।

क्षेत्र नं. १ मा नेपाली कांग्रेसका दीपकुमार उपाध्याय, क्षेत्र नं. २ मा तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) का दानबहादुर चौधरी, क्षेत्र नं. ३ मा तराई मधेस लोकतान्त्रिक पार्टीका बृजेश कुमार गुप्ता, क्षेत्र नं. ४ मा तमलोपाकै इश्वर दयाल मिश्रा र क्षेत्र नं. ५ मा मधेसी जनअधिकार फोरम नेपालका अभिषेक प्रताप शाह निर्वाचित भएका थिए ।

पहिलो संविधान सभाले संविधान जारी गर्न नसके पछि २०७० मा दोस्रो संविधान सभाको निर्वाचन भयो । ५ निर्वाचन क्षेत्र कायम रहेकै बेला भएको निर्वाचनमा क्षेत्र नं. १ एमालेले जित्यो । बलराम अधिकारीले यहाँबाट चुनाव जितेर ०५६ पछि एमालेको दोस्रो जित निकालेका थिए ।

क्षेत्र नं. २ मा कांग्रेसका बागी उम्मेदवार अतहर कमालले चुनाव जिते । क्षेत्र नं. ३ मा तमलोपाका बृजेश कुमार गुप्ता, क्षेत्र नं. ४ मा नेपाली कांग्रेसका सुरेन्द्रराज आचार्य र क्षेत्र नं. ५ मा संघीय समाजवादी फोरम नेपालका अभिषेक प्रताप शाहले चुनाव जिते ।

२०७२ को नेपालको संविधान जारी भए पश्चात २०७४ मा भएको पहिलो संसदीय निर्वाचनमा जिल्लामा तीन प्रतिनिधि सभा र छ प्रदेश सभा निर्वाचन क्षेत्र कायम रह्यो । यो निर्वाचनमा पहिलो पटक देशमा बाम–गठबनधन भएको थियो ।

एमाले-माओवादी केन्द्र गठबन्धनले जिल्लामा तीन प्रतिनिधि सभा मध्ये दुई र ६ प्रदेश सभा मध्ये चार प्रदेश सभामा जित निकाल्यो ।

प्रतिनिधि सभा १ मा माओवादीका चक्रपाणी खनाल बलदेवले चुनाव जिते भने क्षेत्र नं. २ मा बृजेश कुमार गुप्ता निर्वाचित भए ।

चार प्रदेश सभामा विष्णु पन्थी, धर्मबहादुरलाल श्रीवास्तव, दीर्घनारायण पाण्डेय, अर्जुन केसीले चुनाव जितेका थिए ।

यो निर्वाचनमा एक प्रतिनिधि सभा र एक प्रदेश सभा निर्वाचन क्षेत्र मात्र कांग्रेसले जित्न सफल भएको थियो ।

०७४ यता दुई कम्युनिष्ट पार्टीको एकता पछि बनेको नेकपाको विभाजन, एमाले भित्रको विभाजन र देशभर बाम–लोकतान्त्रिक गठबन्धनसंग एक्लै भिडेको एमालेले अप्रत्यासित नतिजा निकाल्दै जिल्लामा एकछत्र जित निकालेको छ ।

क्षेत्र नं. १ मा एमालेका बलराम अधिकारीले चुनाव जित्दा क्षेत्र नं. ३ मा मंगल प्रसाद गुप्ता गर्विलो जित निकाल्न सफल भएका छन् ।

०७४ मा जितेको एउटा प्रदेश गुमाएको एमालेले प्रतिनिधि सभा १ को प्रदेश सभा दुईमा पहिलो जित निकालेको छ ।

लामो समय बर्चश्व कायम राखेका मधेस केन्द्रीत दल कमजोर बन्दा त्यसको फाइदा एमालेले उठाएको छ । जिल्लाका प्रभावशाली नेता बृजेश कुमार गुप्ता, मंगल प्रसाद गुप्ता, दानबहादुर चौधरी, दीर्घनारायण पाण्डेय, मधुसुदनशरण चौधरी, बरजंगी प्रसाद कुर्मी, धर्मबहादुरलाल श्रीवास्तव लगायतका नेताहरु एमाले भित्रिदा यसको फाइदा एमालेले उठाएको हो ।

प्रत्यक्ष निर्वाचन प्रणालीमा शानदार जित निकाल्न सफल भएको एमाले समानुपातिक तर्फको निर्वाचन प्रणालीमा पनि पहिलो पार्टी बनेको छ ।

प्रकाशित मिति : १८ मंसिर २०७९ आइतबार ००:००  १ : १३ बजे