काठमाण्डौ ।
प्रतिनिधि सभाका १ सय ६५ मध्ये १ सय ५५ क्षेत्रको नतिजा आइसक्दा अब १० वटा क्षेत्रको मात्र बाँकी छ । यी १० क्षेत्रमध्ये बाजुरा, दोलखा र स्याङ्जाको क्षेत्र नम्बर–२ मा गणना नै सुरु हुनसकेको छैन ।
गणना भइरहेका ७ वटा क्षेत्रको अन्तिम नतिजा आउन बाँकी छ । हिजो रोकिएको सुनसरी–४ को मतगणना सुरु गर्ने तयारी भइरहेको छ । तर सहमति जुट्न सकेको छैन । सुनसरी–४ मा सञ्चार तथा सूचना प्रविधि मन्त्री एवम् कांग्रेस नेता ज्ञानेन्द्र बहादुर कार्की र एमालेका जगदीशप्रसाद कुसियैतबीच कडा प्रतिस्पर्धा छ । कांग्रेस उम्मेदवार कार्कीले मतगणनाका क्रममा धाँधली भएको आरोप लगाएपछि विवाद भएको हो ।
मतगणनाका क्रममा हुँदै नभएको ६०६ मत एमाले उम्मेदवार जगदीशप्रसाद कुसियैतकोमा जोडेको कार्कीको आरोप छ । गणना रोकिनुअघि सार्वजनिक भएको परिणाम अनुसार कांग्रेस उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्की झिनो मतले अगाडि हुनुुहुन्छ । कार्कीले २१ हजार ४ सय ४५ र एमालेका कुसियैतले २१ हजार ४ सय ३३ मत प्राप्त गर्नुभएको छ ।
सुनसरी–१ को प्रतिनिधि सभा सदस्यमा निक्कै प्रतिस्पर्धा छ । त्यहाँ जनता समाजवादी पार्टीका अशोककुमार राई र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गोमा तामाङबीच प्रतिस्पर्धा छ । पछिल्लो विवरण अनुसार गोमाले १२ हजार ८५५ मत ल्याउँदा एमालेको समर्थन पाएका राईले १२ हजार ५०४ मत पाउनु भएको निर्वाचन आयोगले जनाएको छ ।
त्यस्तै सुनसरी–३ मा एमालेका भगवती चौधरी र कांग्रेसका विजयकुमार गच्छदारबीच प्रतिस्पर्धा छ । चौधरीले १६ हजार ५ र गच्छदारले ११ हजार ६ सय ९५ मत प्राप्त गर्नुभएको छ । इलामको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर–१ मा भइरहेको मतगणनामा विवाद देखिएको छ । पूर्वप्रधानमन्त्री एवम् नेकपा (एकीकृत समाजवादी) का नेता झलनाथ खनालले एकलौटी रुपमा मतगणना गरिएको आरोपसहित पुनः मतदानको माग गर्नुभएको छ । पछिल्लो मत परिणाम अनुसार एमालेका महेश बस्नेतले २० हजार ३ सय ८५ र खनालले १८ हजार २ सय ५ मत प्राप्त गर्नुभएको छ ।
धनुषा क्षेत्र नम्बर–४ मा कांग्रेसका महेन्द्र यादव र एमालेका रघुवीर महासेठबीच प्रतिस्पर्धा छ । पछिल्लो विवरण अनुसार यादवले २१ हजार ९२४ र महासेठले २० हजार ८१७ मत प्राप्त गर्नुभएको छ । उदयपुरमा कांग्रेसका नारायण खड्का र एमालेका मञ्जुकुमारी चौधरीबीच प्रतिस्पर्धा छ । खड्काले २५ हजार ९१७ र चौधरीले २४ हजार १०९ मत प्राप्त गर्नुभएको छ ।
यस्तै, रामेछापको पनि अन्तिम नतिजा आउन सकेको छैन । रामेछापमा कांग्रेसका पूर्णबहादुर तामाङले ४७ हजार ९८ मतका साथ अग्रता कायम राख्नुभएको छ भने उहाँलाई एमालेका कैलाशप्रसाद ढुङ्गेलले ३० हजार ७२९ मतका साथ पछ्याइरहनुभएको छ ।
प्रतिक्रिया