९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

अर्घाखाँचीमा अब ५० वर्षसम्म एमाले बाहेक कसैले जित्दैन



अर्घाखाँची ।
नेकपा एमाले सचिव एवं नवनिर्वाचित प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझीले अर्घाखाँचीमा अब ५० वर्षसम्म एमाले बाहेक अरु कसैले पनि जित्न नसक्ने दाबी गरेका छन् । उनले अन्य दललाई लक्षित गर्दै अब ५० वर्षसम्म जित्ने सपना नदेख्न पनि चुनौती दिएका छन् ।

सत्ता गठबन्धनको घेरबन्दीलाई तोडेर एमालेले यहाँ तीनवटै सिटमा चुनाव जितेर असफल पारेको उनले बताए ।

सन्धिखर्कमा भएको विजय र्‍याली तथा धन्यावाद सभालाई सम्बोधन गर्दै रायमाझीले एमालेका विरुद्ध एक्लै लड्ने आँट नभएपछि गठबन्धन बनेको र त्यो पनि असफल भएकाले अब ५० वर्षको चुनावसम्मका लागि अर्घाखाँचीमा एमाले बाहेक अरु कसैले पनि जित्नसक्ने हिम्मत नराख्ने दाबी गरे ।

‘अब गठबन्धन चल्दैन, टिक्दैन,’ उनले भने, ‘जनतालाई गठबन्धन मन परेको छैन, असफल भए । हामीले सोचेजस्तै सफलता हात पर्‍यो ।’ उनले यस चुनावलाई दूरगामी, युगान्तकारी र इतिहास रच्ने चुनावका रुपमा पनि व्याख्या गरेका थिए ।

यस्तै उनले अबको पाँच वर्ष जनताको सेवामा लाग्ने पनि बताए । ‘जतिबेला एमाले नेतृत्वको सरकार ढाल्ने काम भयो, विकास र समृद्धिका काम गर्छौं,’ रायमाझीले भने, ‘गठबन्धनका दलहरुसँग मित्रवत गर्दै अब एमालेको नेतृत्वमा देशको विकास हुन्छ । अब पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि पर्यटन, पूर्वाधार विकास र रोजगारीका काममा जुट्नेछौं ।’ उनले विकासका काम गरेर अर्घाखाँचीलाई देशकै नमूना जिल्ला बनाइने दाबी गरे ।

रायमाझीले सत्ता गठबन्धनबाट कांग्रेस केन्द्रीय सदस्य पुष्पा भुसाल गौतमलाई १७ सय ३० मतान्तरले पराजित गरेका छन् । प्रदेशसभा १ मा एमाले चेतनारायण आचार्य र प्रदेशसभा २ मा रामजीप्रसाद घिमिरे निर्वाचित भएका छन् ।

प्रकाशित मिति : ८ मंसिर २०७९ बिहिबार ००:००  ८ : ३२ बजे