११ मंसिर २०८१, मंगलबार | Wed Nov 27 2024

पाल्पामा सुरक्षा व्यवस्था कडा



पाल्पा ।

मंसिर ४ आइतबार गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि पाल्पामा सुरक्षा व्यवस्था कडा पारिएको छ । १ सय १८ मतदान केन्द्र र २ सय ४६ मतदानस्थल रहेको छ । 

दुई प्रतिनिधि र चार प्रदेशसभा क्षेत्र रहेको पाल्पामा मतपत्र, मतपेटिका, मतदानस्थल, निर्वाचनका लागि खटिएका कर्मचारी र मतदाता सुरक्षाका लागि विशेष निर्वाचन सुरक्षा योजना बनाइएको हो । निर्वाचन सुरक्षाका लागि नेपाली सेनासहित जनपद प्रहरी, सशस्त्र प्रहरी, म्यादी प्रहरीसमेत गरी ३ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले जानकारी दिए ।

पूर्व, मध्य र पश्चिम कमान्ड बनाएर सुरक्षा योजना बनाइएको र कुनै पनि मतदानस्थलमा ढिलामा ४५ मिनेटमा नेपाली सेना पुग्ने व्यवस्था मिलाइएको उनले बताए । निर्वाचनमा खटिएका कर्मचारी, मतदान गर्ने मतदाता सबैको सुरक्षाका लागि सोही अनुसार प्रबन्ध गरिएको उनले बताए ।

निर्वाचन बहिष्कार समूहले पर्चा फ्याँक्ने र मतदातालाई भड्काउन सक्ने देखिएकाले सोहीअनुसारको सुरक्षा व्यवस्था मिलाइएको प्रहरी उपरीक्षक जनकबहादुर शाहीले जानकारी दिए । जिल्लाका केही स्थानमा निर्वाचन बहिष्कार समूहले पर्चा, पम्पलेट फ्याँकेका थिए ।

प्रकाशित मिति : २ मंसिर २०७९ शुक्रबार ००:००  ३ : ०८ बजे