काठमाडौं ।
आगामी आइतबार हुने प्रदेशसभा तथा प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि शुक्रबार १ बजेसम्म करिब ६ लाख नागरिक उपत्यकाबाट बाहिरिएको यातायात व्यवसायी राष्ट्रिय महासंघले बताएको छ। महासंघले निर्वाचनमा मत हाल्न काठमाडौंमा रहेका विभिन्न जिल्लाका करिब ७ लाखले उपत्यका छाड्ने अनुमान गरेको छ।
दसैं–तिहार लगत्तै निर्वाचनको चहलपहल सुरु भए पनि २५ कात्तिकदेखि काठमाडौंलाई कर्मथलो बनाइरहेका विभिन्न जिल्लाका नागरिकले उपत्यका छाड्न थालेकामा ३ मंसिरसम्म यस्तो संख्या ७ लाख पुग्ने देखिएको महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले जानकारी दिए।
उनका अनुसार चुनावकै लागि विभिन्न पार्टी र व्यक्तिगत खर्चमै गाडी रिजर्भ गरेर मतदातालाई जिल्ला–जिल्ला र स्थानीय निर्वाचन क्षेत्रमा लैजान थालिएको छ। सोही कारण पछिल्ला दिनमा सरदर दैनिक सञ्चालन हुने गाडीको तुलनामा ५० प्रतिशत बढीले माग बढेको र साहीअनुसार व्यवस्था गरिएको उनले बताए।
चुनावमा मतदाता बोक्न लामा रुटका गाडीको प्रयोग बढी भइरहेको उनको भनाइ छ। चुनावमा प्रयोग भएका गाडीको एकिन तथ्यांक नभए पनि अधिकांश रुटका गाडी र निजी गाडीको समेत प्रयोग भइरहेको उनले बताए।
चुनावकै मुखमा दैनिकजसो ६० हजार हाराहारी यात्रुले सडक मार्ग हुँदै उपत्यका छाडिरहेको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। गत बुधबार एकै दिन ५८ हजार २९४ जना यात्रुले उपत्यका छाडेकामा बिहीबार ५५ हजार १४७ जना र शुक्रबार मात्र १ लाख हाराहारी यात्रुले उपत्यका छाडेको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसएसपी राजेन्द्रप्रसाद भट्टले बताए। शनिबार उपत्यका छाड्नेको संख्या थप बढ्ने ट्राफिक प्रहरीको अनुमान छ।
प्रतिक्रिया