चन्द्रकान्त न्यौपाने, जितपुर ।
आसन्न मंसिर ४ गतेको चुनाव मिति आउन अब ४ दिन मात्र रहँदा उम्मेदवारहरुले आ–आफ्नो जित सुनिश्चित भएको दाबी गर्न थालेका छन् । घरदैलो लगायत चुनावी प्रचारप्रसारको अन्तिमतिर उम्मेदवारहरुले आफूले जित हासिल गर्ने आधारहरु प्रस्तुत गर्न थालेका हुन् ।
यसैबीच कपिलवस्तुको निर्वाचन क्षेत्र नं १ (१, २ं) मा प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य पदमा वाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारत्रय पूर्वमन्त्री चक्रपाणी खनाल (बलदेव), डोलकराम घिमिरे र सहसराम यादवले आफ्ना प्रतिस्पर्धी एमालेका उम्मेदवार बलराम अधिकारी, विष्णु पन्थी र मधुसुदन पाण्डेयलाई हराउने दावी गरेका हुन् । बिभिन्न आधारहरु प्रस्तुत गर्दै उनीहरुले ७ आधारमा विपक्षीलाई हराउने बताए ।
नेकपा माओवादी केन्द्रका सचिव बलदेव र कपिलवस्तु उद्योग वाणिज्य संघका अध्यक्ष तथा विभिन्न संघ संस्थामा नेतृत्वदावी भूमिका निर्वाह गरेका घिमिरेले घरदैलोको क्रममा मतदाताबाट पनि यस्तै सुझाव र सल्लाह आएको बताएका छन् । अहिले देशभर नै संविधान मास्ने शक्तिसंग जनता रुष्ट भएकाले गठबन्धनको पक्षमा बाहोल भएको बताइन्छ । बलदेव र डोलकरामको नजरमा चुनावी नतिजा गठबन्धनको पक्षमा पर्ने कारणहरु यस्ता छन् ।
१ः गठबन्धनको साथ र मतभार
घिमिरे र बलदेव यसपटक वाम लोकतान्त्रिक गठबन्धन भएका कारण चुनाव जित्नेमा ढुक्क छन् । काँग्रेसको आधार इलाका क्षेत्र एक नै भएकाले मत तलमाथि हुने कुरा उनीहरुले विश्वास गर्दैनन् । विपक्षीको मत तान्ने तर आफ्नो पक्षको मत अरुले कुनै हालतमा नलैजानमा उनीहरु ढुक्क रहेको बताउँछन् ।
काँग्रेससंगै माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, लोसपा लगायतको साथ रहेका कारण बढी मतान्तरमै चुनावमा विजयी भएर इतिहास रच्ने उनको भनाई छ । उम्मेदवार घिमिरे भन्छन् ‘हिजो एक्लै पनि यस क्षेत्रमा काँग्रेस बलियो स्थितिमा थियो । एमाले र माओवादी मिल्दा पनि २०७४ काँग्रेसले दुवै क्षेत्रमा थोरै मतान्तरमा पराजित थियो । अहिले त गठबन्धन एकजुट छ । स्थानीय तहको चुनावमा पनि मतभार आफूहरुको बढी देखिएको थियो । सबै पार्टीका नेता कार्यकर्ता चुनावी नतिजा गठबन्धनको पक्षमा पार्न लागिरहनु भएको छ ।’
उत्तर र दक्षिण दुवैमा राम्रो वातावरण भएको नेताहरु बताउँछन् । दक्षिणमा चाहेर पनि कसैले वातावरण नभत्काउने उम्मेदवार सहसराम यादव बताउँछन् । गत वैशाख ३० गते भएको स्थानीय तहको चुनावको मतभार पनि आफूहरुको धेरै रहेको उनीहरुको भनाई छ ।
२ः बलदेव र घिमिरेको लामो राजनैतिक अनुभव
बलदेव र घिमिरे दुवैको लामो राजनैतिक पृष्ठभूमि छ । २०३४ सालमा पंचायतविरोधी आन्दोलनबाट उनी चर्चामा आए । तत्कालिन पर्चा टाँस अभियानमा शशक्त उपस्थिति जनाएका उनी ३६ सालको आन्दोलनमा पनि नेतृत्वदायी भूमिकामा रहे । त्यसपछि २०४३ सालबाट होल टाइमर भएर कम्युनिष्ट आन्दोलनमा समाहित भए ।
गरिव दुखी र मजदुरको पक्षमा दरिलोसंग आवाज उठाएका उनले ४६ सम्म मसाल मोहन विक्रम नेतृत्वको मसालमा रहेर काम गरे । त्यसपछि भने बलदेवले मसाल छोडेर प्रचण्डसंग एकता गरी जनयुद्धमा कमाण्डरको भूमिकामा रहे । विस्तृत शान्ति सम्झ्यौतापछि उनी संसदीय राजनीतिमा छन् । पटकपटक चनाव जित्दै उनी मन्त्री समेत भएका छन् । पार्टीमा पनि बलदेवको ठुलो पकड छ । मुलुक परिवर्तनको लागि आफ्नो लामो र ठुलो योगदान रहेकाले त्यो कपिलवस्तुका जनताले नभुल्ने उनले सुनाए ।
यता प्रदेश सभाका उम्मेदवार घिमिरेको पनि लामो राजनैतिक पृष्ठभूमि छ । उनी ३५ वषदेखि निस्वार्थ काँग्रेसको राजनीतिमा रहेका छन् । काँग्रेसको महासमिति सदस्य पनि भए । पार्टीमा खास पद नपाए पनि घिमिरेले सधैँ निष्ठाको राजनीति रोजे । काँग्रेसको नेता भए पनि डोलकराम सबै दल र वर्गको साझा ब्यक्ति भइसकेका छन् ।
३ः स्वच्छ व्यक्तिक छवि
यसपटक चुनाव जित्न दुवै उम्मेदवारले आफूहरको ब्यक्तिक छविले पनि सहयोग गर्ने बताउँछन् । राजनीति सुरु गरेको समयदेखि नै आफ्नो ब्यक्तित्व सरल रहेको उनीहरुको भनाई छ । बलदेव जनयुद्धका इमान्दार कमाण्डर त हुन् नै उनले आफूलाई इमान्दार मन्त्रीको रुपमा पनि पुष्टि गरे ।
बाहिर बलदेवले गलत गर्यो भन्ने छाप नपारेका उनले मन्त्री भएर पनि नराम्रो गरेनन् । अहिलेसम्म कुनै पनि भ्रष्टाचारका काण्ड, बिबाद, किचलो, लफडामा नपनलाई पनि उनी सफलता ठानछन् । बलदेव भन्छन् ‘राजनीति सेवा हो ब्यापार होइन भन्ने सिद्धान्त बोकेकै कारण आजसम्म कसैले ब्यक्तिगत रुपमा प्रश्न उठाउन आँट राख्दैनन् । त्यसैले पनि पार्टी र आफ्नो क्षेत्रका जनताको अपार माया अहिले पनि पाइरहेको छु । मन्त्री भएर पनि मैले पदको दुरुपयोग गरिनँ ।’
प्रदेश उम्मेदवार घिमिरेले पनि ब्यक्तिक छविकै कारण आजसम्म शिर ठाडो पारेर हिँड्न सकिएको बताए । यही ब्यक्तित्वको कारण कपिलवस्तु उद्योग वाणिज्य संघमा नेतृत्व पाएको पनि उनले स्मरण गरे । यसको साथमा आफूले सक्ने काममा कसैलाई पनपक्ष नगरेको, जानकारी पाएसम्म सामाजिक न्यायको लागि लडिरहेको, कुनै भ्रष्टाचार लगायत कुनै विवादमा नफसेको, महंगो र खर्चिलो जीवनशैली नअपनाएको लगायतका कारण आफूले चुनाव जित्ने घिमिरेले बताए ।
मत माग्न जाँदा मतदाताले आफ्नो सादगी जीवन मन पराएको उनको भनाई छ । पार्टीबाट टिकट पाउनुको पछाडीको कारण पनि यही भएको उनले बताए । आफ्नो यही स्वच्छ छवि आज ब्राण्ड बन्दै गइरहेको र उदाहरण प्रस्तुत गरेको घिमिरेले बताए ।
४ः मन्त्री बनेर विकास गर्ने दावी
गठबन्धनका दुवै उम्मेदवारले चुनाव जितेर मन्त्री बन्ने निश्चित भएको बताउँदै आएका छन् । बलदेव माओवादीका शक्तिशाली नेता हुन् । मंसिर ४ पछि गठबन्धनको सरकार बन्दा आफू मन्त्री बन्ने बलदेवको भनाई छ । ७४ मा चुनाव जितेर छोटो समयको लागि मन्त्री भएको बताउँदै आफूले ल्याएका नीतिहरुलाई कार्यान्वयन गर्न पनि आफू मन्त्री भएर छाड्ने बलदेवको भनाई छ । यस विषयमा प्रचण्डसंग कुरा भएको पनि उनी बताउँछन् । अब मन्त्री भएर यहाँको विकासको लागि राष्ट्रिय अन्र्तराष्ट्रिय बजेट ल्याउने जिल्लाको एक मात्र नेता आफू भएको उनको दावी छ ।
यता घिमिरेले पनि भत्ता बुझ्ने सांसद बन्न चुनावमा नउठेको बताउँछन् । उनले हरेक चुनावी भाषणमा अबको लुम्बिनी प्रदेश सरकारको नेतृत्व गठबन्धनले गर्ने र त्यसमा आफू पनि समाहित हुने उनी बताउँछन् । मन्त्री भएर विकासको परिभाषा दिन आफ्नो मन भएको उनले बताए । यसअघि जितेकाबाट कपिलवस्तुको आशादिन विकास नभएको उनी बताउँछन् ।
५ः आफूले भ्रष्टाचार नगर्ने र गर्नेविरुद्ध खरो उत्रने
उसो त घिमिरे र खनाल दुवै आफैमा स्वच्छ छविका नेता हुन् भनेर बाहिर चर्चा हुन्छ । त्यसको साथमा उनीहरु भ्रष्टाचारलाई मन पराउँदैनन् । करिब १ महिने चुनावी दौरानमा जहाँ गयो त्यहाँ आफहरुले चुनाव जितेमा भ्रष्टाचारविरुद्ध कडा भएर जाने बताइरहेका छन् ।
पार्टीभन्दा माथि उठेर सडक र सदनबाटै यसविरुद्ध आवाज उठाउने खनालर घिमिरेको दावी छ । घिमिरे उनी भन्छन् ‘४६ सालको परिवर्तनपछि राजनीतिमा लागेर केही नभएका ब्यक्ति पनि निकै धनाढ्य भएका छन् ।
यसपछाडीको कारण पनि भ्रष्टाचार नै हो । भ्रष्टाचारले मुलुक बन्दैन । म यसमा कठोर छु । पार्टीभन्दा माथि उठेर भ्रष्टाचारविरुद्ध आन्दोलनको सुरुवात गर्छु र प्रदेशभर भ्रष्टाचार हुने अखडा पत्ता लगाएर कारबाही गर्छु ।’
बलदेवले पनि अब कर्मचारी तन्त्रलाई पनि भ्रष्टाचारको मामलामा सजग बनाउने र नेताहरु पनि सच्चिनु पर्ने भन्दै कडा ढंगले काम गर्ने बताए । मुलुक भ्रष्टाचारकै कारण मुलुक विकास नभएको निष्कर्षमा प्रचण्ड पुगेको बताउँदै माओवादीको अबको एजेण्डा भ्रष्टाचारमुक्त नेपाल बनाउनु रहेको बताए ।
६ः अन्र्तघातको छैन डर
दुवै नेताले गठबन्धनका नेता कार्यकर्ताबाट आफूहरुलई अन्तरघात नहुने दावी गर्छन् । बाहिर बातावरण विग्रिएको भनेर भ्रम सिर्जना गरे पनि पार्टी पङ्ती दुवै सिटमा जित हासिल गर्न एकजुट भएर लागेको घिमिरेको दावी छ । गठबन्धनमा काँग्रेसमा केही बादविवाद भए पनि चुनावको दिन सबै सक्किने दुवै नेताले बताए ।
ललित गुरुङको स्वतन्त्र उम्मेदवारीले वातावरण विग्रिएको भनेर प्रचार भए पनि इमान्दार काँग्रेसका नेता कार्यकर्ताले गठबन्धनको राष्ट्रिय बाध्यता राम्रोसंग बुझेको बताए ।
‘काँग्रेसका नेता त्यति कमजोर र अरुको उक्साहट लाग्ने खालका छैनन् । उहाँहरु इमान्दार हुनुहुन्छ । यसपटक यहाँ गठबन्ध्नलाई जिताउनु हुन्छ । कपिलवस्तुमा मात्र होइन देशभरी नै गठबन्धनलाई जिताउनु हुन्छ,’उनी भन्छन् ।
७ः कपिलवस्तु फेर्ने चुनावी एजेण्डा
गठबन्धनको घोषणा पत्रमा अहिले कपिलवस्तु फेर्ने चुनावी एजेण्डा रहेको उम्मेदवारहरु बताउँछन् । कपिलवस्तुको कृषि, खानेपानी, शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, पर्यटन, विद्यूत आदिको विकास गर्ने चुनावी एजेण्डा घोषण पत्रमा देखिन्छ ।
बलदेव भन्छन् ‘मुख्यगरी हामीले आगामी ५ बर्षमा तिलौराकोट र जगदिशपुर तालको विकासको लागि वृहत ढंगको काम गर्छौँ, नौमुरे जलविद्यूत परियोजना र जिपी कोइराला टेक्निकल कलेजले पूर्णता पाउँछ, यहाँ थोक र कृषि बजारलाई ब्यवस्थित गरिन्छ, चुनावपछिको गठबन्धनको सरकारले अहिलेको भूमि आयोगमार्फत् लालपुर्जाविहिन सुकुम्बासीलाई लालपुर्जा दिन्छ, मायादेवी र बुद्ध रंगालालाई राष्ट्रियस्तरको बनाइन्छ, सिंचाइको लागि ठाउँठाउँमा बोरिङ जडान हुन्छन्, गुणस्तरीय शिक्षको लागि विशेष बजेट ल्याइन्छ, अपुरा र मर्मत गर्नुपर्ने सबै बाटाघाट, पु्ल, पुलेसा बन्छन्, किसानको लागि बिभिन्न कुरामा विशेष सहुलियत हुन्छ । व्यवसायीले व्यवसाय गर्ने वातावरण पाउने छन् । धेरै कुरामा परिवर्तन हुने छ ।’
यसअघि मन्त्री बनेर आम जनमानसमा गरेन भन्ने बुझाइ रहेको कारण चुनाव जितेर जिल्लाको मुहार फेरिने गरी बजेट ल्याउने बलदेवले बताए । उम्मेदवार घिमिरेले पनि आफूले यहाँको सन्तुलित विकास गर्नको लागि ठुलो मात्रामा प्रदेशको बजेट ल्याउने बताए ।
प्रतिक्रिया