मायादेवी अनलाइन, बाणगंगा ।
कपिलवस्तु २ को प्रदेश सभा (१) मा नयाँ अनुहार बीच रोचक प्रतिस्पर्धा हुने भएको छ ।
आउँदो मंसिर ४ को प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा बाम-लोकतान्त्रिक गठबन्धनबाट नेपाली कांग्रेसका विक्रम सिंह थापा उम्मेदवार छन् भने नेकपा एमालेले नवराज लामिछानेलाई उम्मेदवार बनाएको छ ।
दुबै उम्मेदवार मतदाताका सामु नयाँ अनुहार हुन् । थापा नेपाल प्रहरीबाट एसएसपी भएर अवकाश प्राप्त कर्मचारी हुन् भने लामिछानेले सामाजिक काममा सक्रिय भएपनि कुनै दलबाट सक्रिय राजनीति गरेका थिएनन् ।
विभिन्न दल र स्वतन्त्र गरी यहाँ आधा दर्जन उम्मेदवार रहेपनि मुख्यतया गठबन्धन र एमाले बीच प्रतिस्पर्धा देखिन्छ ।
एमालेका उम्मेदवार लामिछाने आफ्नो जित निश्चित रहेको बताउँछन् । बुद्धभूमिबासी हुनु र मतदाता सामु परिचित रहेकाले मत पाउनेमा उनी ढुक्क जस्तै छन् । ०७४ सालमा बुद्धभूमि नगरपालिकाको नगर उप-प्रमुखमा स्वतन्त्रबाट चुनाव लडेका लामिछानेले १५ सय सेरोफेरोमा मत पाएका थिए ।
महाराजगन्ज क्षेत्र बनाएर काष्ठ उद्योग सन्चालन गर्दै आएका उनले मधेसी र पहाडीया समुदायमा आफू लोकप्रिय रहेको दाबी गर्छन् ।
एमालेको बलियो संगठन र मतदाताले राम्रोसंग चिन्ने हुँदा निर्वाचन जित्नेमा उनी आशावादी छन् ।
थापा भने मतदाता सामु नयाँ अनुहार हुन् । गुल्मी घर भएका थापा आफूलाई कपिलवस्तुबासी रहेको बताउँछन् । तर यो निर्वाचन क्षेत्रमा उनी बसोबास गर्दैनन् । थापा नेपाल प्रहरीमा रहदा कपिलवस्तुको सुरक्षा कमाण्ड सम्हालेका कारण यो ठाउँ आफ्नो लागि नौलो नरहेको उनले बताउँदै आएका छन् । यहाँको सामाजिक, आर्थिक जीवनलाई नजिकबाट नियालेका थापाले समृद्धि र विकासको नारा बोकेर मतदाता सामु पुगिरहेका छन् ।
यस प्रदेश सभा निर्वाचन क्षेत्रमा बुद्धभूमि नगरपालिकाका ९ वडा र महाराजगन्ज नगरपालिकाका ८ वडा छन् ।
यस्तो छ वडागत मतपरिणाम
गत बैशाख ३० मा सम्पन्न स्थानीय तहको चुनावमा नेपाली कांग्रेसले १७ वडा मध्ये ११ वडामा जित हासिल गरेको छ । एमालेले ५ वडामा जित हासिल गर्दा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले एक स्थानमा जित हासिल गरेको छ ।
कांग्रेसले बुद्धभूमि नगरपालिकाका वडा नं. १, वडा नं. २, वडा नं. ६, वडा नं. ८ र वडा नं. ९ मा जित हासिल गरेको छ । यस्तै महाराजगन्ज नगरपालिकाको वडा नं. ८, वडा नं. १०, वडा नं. ११, वडा नं. १, वडा नं. २, वडा नं. ३ मा जित हासिल गरेको छ ।
एमालेले बुद्धभूमि नगरपालिकाका वडा नं. ३, वडा नं. ४, वडा नं. ५ र वडा नं. ७ मा जित हासिल गरेको छ । महराजगन्जको वडा नं. ९ मा मात्र एमालेले वडा जितेको छ ।
लोसपाले महाराजगन्जको वडा नं. ४ मा जित हासिल गरेको छ ।
कांग्रेसलाई नेकपा माओवादी केन्द्र, नेकपा एस र राष्ट्रिय जनमोर्चाको साथ छ । एमाले एक्लै चुनावी मैदानमा होमिएको छ ।
कांग्रेस र एमालेले वडागत रुपमा पाएको मतका आधारमा ३५ सय बढीको फरक छ । कांग्रेसले एमाले भन्दा ३ हजार ५९७ मत पाएको छ ।
कांग्रेसका वडाध्यक्षले २० हजार ४५१ मत पाएका छन् भने एमालेका वडाध्यक्षले १६ हजार ८५४ मत पाएका छन् ।
माओवादी केन्द्रका वडाध्यक्षले १ हजार ३९२ मत पाएका छन् ।
लोसपाले प्रदेश सभामा उम्मेदवार नउठाएकाले कसलाई सहयोग गर्छ अझै भन्न सकिने अवस्था छैन् । वडाध्यक्षमा अन्य साना दलका उम्मेदवारले पनि राम्रै मत ल्याएका छन् ।
मत संख्यामा अगाडी देखिएको गठबन्धनले जित सुनिश्चित रहेको दाबी गर्दै आएको छ । एमालेले भने स्थानीय तहमा पाएको मत मंसिर ४ को चुनावमा फरक पर्ने बताउँछ । स्थानीय तहको चुनावमा दीर्घ नारायण पाण्डेय कांग्रेसमा सक्रिय हुँदा महाराजगन्जमा कांग्रेसको मत राम्रो आएको र अहिले पाण्डेय एमालेमा लागेकाले नतिजा फरक आउने एमालेको आंकलन छ । स्थानीय तहमा देखिएका पार्टी भित्रका समस्या पनि हल भएको एमालेको दाबी छ ।
प्रतिक्रिया