मायादेवी अनलाइन, बाणगंगा ।
कपिलवस्तु १ को प्रदेश सभा २ मा जनता समाजवादी पार्टी (जसपा) मत संख्यामा अगाडी छ । गत बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा वडाध्यक्षले पाएको मतपरिणाम अनुसार जसपा मत संख्यामा अगाडी देखिएको हो ।
तर यो बीचमा प्रभावशाली नेताहरुले दल अदल-बदल गर्दा आसन्न मंसिर ४ को निर्वाचनमा फरक परिणाम आउन सक्ने विश्लेषण गरिन्छ । प्रदेश सभा २ मा शुद्धोधन गाउँपालिकाका ६ वडा, मायादेवी गाउँपालिकाका ७ वडा र कपिलवस्तु नगरपालिकाका २ वडा छन् ।
जसमा जसपा एक्लैले ७ वडा जितेको छ । अधिकांश वडामा दोस्रो भएर हार व्यहोरेको छ । जसपाको दरिलो उपस्थिति रहदा रहदै नेताहरु दल बदल-बदल तिर लाग्दा जसपा कार्यकर्ता नै अचम्मित छन् ।
यसै क्षेत्रबाट ०७४ सालमा प्रदेश सभा जितेका सहसराम यादवले मनोनयनको दिन पार्टी परित्याग गरी कांग्रेस प्रवेश गरे । जसपाबाट मनोनयन दर्ता गर्न बाणगंगाको गजेहडामा रहेको निर्वाचन अधिकृतको कार्यालय आएका यादव एकाएक मोडिएर कांग्रेस उम्मेदवार बने ।
०७४ मा मायादेवी गाउँपालिकाको अध्यक्ष भएका बजरंगी कुर्मी पनि जसपा परित्याग गरी नेकपा एमालेमा प्रवेश गरे । गत बैशाख ३० को निर्वाचनमा झिनो मतान्तर (३८८) मतान्तरले अध्यक्षमा पराजित भएका कुर्मीले किन एकाएक पार्टी परित्याग गरे सबै कुरा बाहिर आएको छैन् ।
शुद्धोधन गाउँपालिकाका पूर्व अध्यक्ष तथा गत स्थानीय तहको निर्वाचनमा झिनो मतान्तर (२९९) मतले अध्यक्षमा पराजित निसार अहमद खाँ गठबन्धनलाई जिताउने गरी सक्रिय छन् । कुनै पार्टीमा नलागेका खाँ जसपामा अब छैनन् ।
मुख्य अगुवा नै पार्टी परिवर्तनमा लागे पछि स्थानीय तहको निर्वाचनमा विजयी भएका जनप्रतिनिधि चेपुवामा परेका छन् ।
पार्टी छाडेका सहसराम यादव प्रदेश सभा सदस्य पदका उम्मेदवार छन् । यादवलाई खुलेरै समर्थन गर्दा पार्टीबाट कारबाही खाने डर एकातिर छ भने जसपाका स्वयम उम्मेदवार चुनावी मैदानमा छन् । आफ्नै पार्टीका उम्मेदवार हराएर पार्टी छाडेका उम्मेदवार जिताउदा बाँकी राजनीति जीवन धरापमा पर्ने कतिपयलाई डर छ ।
यही असहज परिस्थितिमा परेका जसपाका जनप्रतिनिधि र नेताहरुले के गर्छन् आसन्न मंसिर ४ को निर्वाचनको नतिजा हेरे पुग्छ ।
जसपाका कपिलवस्तु अध्यक्ष शैलेन्द्र कुमार यादव मायादेवी गाउँपालिका वडा नं. ३ का वडाध्यक्ष छन् । यो वडा प्रदेश सभा १ मा पर्छ । तर यादव जिल्ला अध्यक्ष भएको कारण आफ्ना उम्मेदवार जिताउनुपर्ने बाध्यता उनलाई छ । स्वयम जसपाका कार्यकर्ता भने अध्यक्षसंग नै ससंकित छन् । कतै शैलेन्द्रले आफ्ना उम्मेदवार हराउन त लाग्ने होइनन् भन्ने कार्यकर्तालाई शंका छ ।
अध्यक्ष यादवले भने आफू आफ्ना उम्मेदवारलाई हराउने विषय सोच्न पनि नसक्ने बताउँछन् । सहसराम यादव पार्टीमा रहदा आफ्ना नेता भएपनि पार्टी छाडेकाले अब ती नेता नहुने उनले बताए । जसपाले मेवालाल यादवलाई चुनाव जिताउने गरी मैदानमा उतारेको उनी बताउँछन् ।
चुनावी चर्चाः छैनन् मेवालाल प्रतिस्पर्धामा, त्रिपक्षिय लडाई हुने विश्लेषण
चुनाव नजिकिदै जादा यस प्रदेश निर्वाचन क्षेत्रमा त्रिपक्षिय प्रतिस्पर्धा हुने अधिकांशको अनुमान छ । मत संख्यामा जसपा अगाडी देखिए पनि ती मत मेवालाल गुप्ताले नपाउने कतिपयको तर्क छ ।
चुनावी चर्चामा यहाँ नेपाली कांग्रेसका सहसराम यादव, नेकपा एमालेका मधुुसुदन शरण चौधरी र नेकपा (एस) का फैजल खान बीच प्रतिस्पर्धा हुने आंकलन छ । यी तीन बीच प्रतिस्पर्धा हुने भनिएको यो निर्वाचन क्षेत्रमा मतदाताले कसलाई मत दिन्छन् यसै भन्न सकिने अवस्था छैन् ।
जसपाका कार्यकर्ताले आफ्नै उम्मेदवारलाई मत दिए सबैका अनुमान फेल खानेछन् । व्यक्तिगत प्रभावको राजनीति हावी देखिएको यहाँ पार्टीगत मत कसरी झर्छ हेर्न बाँकी छ ।
प्रतिक्रिया