७ मंसिर २०८१, शुक्रबार | Fri Nov 22 2024

औद्योगिक विकासको लागि गठबन्धनका उम्मेद्वारको साझा प्रतिवद्धता



बुटवल ।

औद्योगिक विकासको लागि सत्ता गठबन्धनका उम्मेदवारहरुले साझा प्रतिवद्धता व्यक्त गरेका छन् ।

औद्योगिक विकास, त्यसका माध्यमबाट रोजगारी सिर्जना, रोजगारीको लागि पलायन भईरहेको जनशक्तिलाई आफ्नै स्थानमा काम गर्ने वातावरण बनाउने उनीहरुको प्रतिवद्धता छ ।

रुपन्देहीको क्षेत्र नं. २ मा सत्ता गठबन्धन निकटका उद्योगी व्यवसायीहरुसंग सत्ता गठबन्धनबाट प्रतिनीधि सभा सदस्य उम्मेद्वार केशवबहादुर थापा, प्रदेश (क) का उम्मेदवार दीर्घबहादुर (कुमार) केसी र प्रदेश (ख) का उम्मेदवार बामदेव क्षेत्रीले यस क्षेत्रको आर्थिक विकासको लागि ठोस योजना र कार्यक्रम तर्जुमा गरी लागू गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको हो ।

त्यस्तै बुटवल रामनगरको औद्योगिक क्षेत्रको व्यवस्थापनमा सघाउ पुर्याउने, व्यावसायीका लागि सस्तो व्याजदरमा सुलभ तरिकाले कर्जा उपलव्ध हुने वातावरण मिलाउने उनीहरुको प्रतिवद्धता छ । औपचारिक तथा अनौपचारिक क्षेत्रका मजदुरहरुको हितको लागि सामाजिक सुरक्षा कोषमा सुचिकृत गर्ने व्यवस्था, न्यूनतम पारिश्रमिकको व्यवस्था, रोजगारी सिर्जना र श्रमिकमैत्री वातावरण बनाउन ठोस कार्यक्रम ल्याउने उनीहरुको प्रतिवद्धता छ ।

त्यस्तैगरी न्युन आय भएका गरिव तथा विपन्न वर्गका महिलाका लागि उद्यमशिलता कार्यक्रम, युवाहरुलाई स्वरोजगारतर्फ आकर्षित गर्न विशेष कार्यक्रम र छुट्टै स्वरोजगार कोषको व्यवस्था मिलाउने उनीहरुले प्रतिवद्धता व्यक्त गरे ।
कार्यक्रममा बोल्दै प्रतिनीधि सभा सदस्य पदका उम्मेदवार केशवबहादुर थापाले यस क्षेत्रको औद्योगिक विकासको लागि गठबन्धन प्रतिवद्ध रहेको बताउनु भयो । यस क्षेत्रमा औद्योगिक विकासको लागि मोतिपूर औद्योगिक क्षेत्रलाई व्यवस्थित गरेर पूर्णता दिने प्रतिवद्धता जनाउनु भयो ।
त्यस्तै बुटवल औद्योगिक क्षेत्र, बुटवल धागो कारखानालाई समेत व्यवस्थापन गर्ने उहाँको भनाई छ । त्यस्तै निजी क्षेत्रलाई प्रोत्साहन गरिने छ । औद्योगिक क्षेत्रको बिकास तथा लगानीको वातावरण सिर्जना गर्ने र स्वदेशमै रोजगारी सिर्जना गर्न पहल गर्ने उहाँको भनाई छ ।

त्यस्तै रुपन्देही २ (क) प्रदेश सभा सदस्य पदका उम्मेदवार दीर्घबहादुर (कुमार) केसीले औद्योगिक विकास, कृषिमा व्यवसायिक विकास तथा पर्यटन उद्योगको विकास र प्रवद्र्धनमा विशेष ध्यान दिईने बताउनु भयो । उहाँले औद्योगिक विकासका माध्यमबाट आयात प्रतिस्थापन गर्दै निर्यातलाई जोड दिईने र स्थानीय कच्चा पदार्थमा आधारित उद्योगलाई विशेष प्राथमिकता दिईने बताउनु भयो । यसले उच्च विन्दुमा भईरहेको आयात प्रतिस्थापन तथा नयाँ रोजगारीको पनि सिर्जना हुने र युवाशक्तिले रोजगारीको अवसर प्राप्त गर्ने उहाँको भनाई छ ।


त्यस्तै प्रदेश (ख) का उम्मेदवार बामदेव क्षेत्रीले आफू प्रदेश योजना आयोगको उपाध्यक्ष भएर काम गर्दा औद्योगिक विकासको लागि खाका बनाएको र सोही अनुसारका कामलाई प्राथमिकता दिएको भनाई राख्नुभयो ।त्यस अवसरमा उद्योगी व्यवसायीहरुले पटक पटक जितेका उम्मेदवारबाट औद्योगिक विकासको साटो वातावरण नै विगार्ने काम भएकोले त्यसलाई सुधार गरेर मोतिपुर औद्योगिक क्षेत्रलाई परिस्कृत गरेर भएपनि निर्माण गर्नुपर्ने भनाई राखेका थिए । त्यस्तै लगानीको वातावरण, लगनाी सुरक्षाको प्रत्याभूति, सरल र सहज कर्जाको व्यवस्था अपरिहार्य रहेको उनीहरुको भनाई थियो ।

सत्ता गठबन्धन उद्योगी व्यवसायी तथा पेशाकर्मी परिचालन समितिका संयोजक खिमबहादुर हमालले यहाँका सबै उद्योगी व्यवसायीहरु सत्ता गठबन्धनका उम्मेदवारको पक्षमा रहेको र निर्वाचन जितेर गईसकेपछि व्यवसायीका समस्या सम्बोधन गरी समाधान गर्न आग्रह गर्नुभयो ।

प्रकाशित मिति : २९ कार्तिक २०७९ मंगलबार ००:००  २ : ४३ बजे