७ मंसिर २०८१, शुक्रबार | Fri Nov 22 2024

नेपालबाट अन्तर्राष्ट्रिय क्रिकेट खेलेका को हुन् फैजल ?



कपिलवस्तु ।
गाउँ, जिल्ला, क्षेत्र मुलुक हुँदै अन्तर्राष्ट्रिय क्रिकेटमा नाम कमाएका खेलाडी फैजलुर खाँ (फैजल खान) को राजनीतिमा सक्रियता बढ्दो छ । मुलुक र अन्तर्राष्ट्रिय क्षेत्रमा शतक हानेर चर्चा कमाएका उनी राजनीतिक खेलाडी बन्न पुगेका हुन ।

उनले आसन्न मंसिर ४ को आम निर्वाचनमा कपिलवस्तु १ को ‘ख’ मा प्रदेश सभा तर्फ उम्मेदवारी दिएका छन् । नेकपा (एकीकृत समाजवादी) बाट उनले उम्मेदवारी दिएका हुन् ।

सानैदेखि क्रिकेट क्रेजले खेलाडी भएका उनले राजनीतिमा दोस्रो इनिङ्स सुरु गरेका छन् । ३० वर्षे क्रिकेटर खाँले क्रिकेटमा जसरी नै राजनीतिमा पनि राम्रो काम गरेर नाम राख्ने बताए ।

मायादेवी गाउँपालिका–२, भैसकुण्डाका खाँ यू–१९ का राष्ट्रिय खेलाडी हुन् । सन् २०११ देखि अन्तर्राष्ट्रिय खेल खेल्न थालेका उनी सन् २०१६ सम्म नेपालको प्रतिनिधित्व गर्दै खेलेका थिए ।

सन् २०११ मा थाइल्यान्डमा सम्पन्न यू–१९ एसीसी ट्रफी प्रतियोगितामा ओमानविरुद्ध शतकीय इनिङ्स खेलेपछि उनले चर्चा कमाएका थिए । उनले सन् २०१२ मा मलेसियामा सपन्न एसियन कप क्वालिफाइङ प्रतियोगितामा पनि खेलेका थिए । सन् २०१३ मा अस्ट्रेलियामा सम्पन्न वर्ल्डकप क्वालिफाइङ प्रतियोगितामा पनि खेलेका थिए ।

यू–१९ मा छनोट प्रतियोगितामा पोखराविरुद्ध भैरहवाका लागि विस्फोटक ब्याटिङ गरेपछि उनी छनोटमा परेका थिए । उनले १ सय ३१ रन बनाएका थिए । सन् २०१४ मा पेप्सी स्ट्यान्डर्ड कप क्रिकेटमा एपीएफ क्लबविरुद्ध फाइननमा पनि उनले ठूलो स्कोर खडा गरेका थिए ।

फाइनलमा १ सय २५ रन बनाएर उत्तिकै चर्चा बटुलेका थिए । सन् २०१३ मा धनगढीमा सम्पन्न एनपीएलमा १८ बलमा ६६ रन बनाएपछि उनको खेल–व्यक्तित्व माथि उठेको थियो । ‘क्रिकेट खेलेर जसरी चिनिएँ, त्यसरी नै राजनीतिमा नाम राख्छु,’ उनले भने, ‘खेलाडीले राम्रै गर्न सक्छन् भन्ने देखाउने गरी योजना र काम आँटेको छु ।’

राष्ट्रिय स्तरमा महेन्द्र पुलिस क्लब, भैरहवा–४, ईपीएलको कलर्स एक्सपेक्टरसँग जोडिएर पनि खेल खेलेका उनी अलराउन्डर खेलाडीका रूपमा परिचित छन् । ८ विभिन्न मुलुकमा गएर उनले नेपालका तर्फबाट क्रिकेट खेलेका छन् ।

सन् २०१० देखि राष्ट्रिय रूपमा क्रिकेट खेलसँग जोडिएका उनी सन् २०१२ मा थाइल्यान्डमा सम्पन्न यू–१९ विश्वकपमा नेपालका तर्फबाट उत्कृष्ट प्रदर्शन गरेका थिए । ‘मधेसको समाज बेलाबेला विभाजित हुन्छ । नेतृत्व गर्ने मौका पाए सबैभन्दा पहिला त्यसलाई जोड्ने काम गर्नेछु,’ उनले भने, ‘साम्प्रदायिक सद्भाव कसिलो बनाउनेतर्फ मेरो प्रयत्न हुनेछ ।’

प्रकाशित मिति : २८ कार्तिक २०७९ सोमबार ००:००  ९ : ३८ बजे