मायादेवी अनलाइन, बाणगंगा ।
कपिलवस्तु ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टी प्रति धेरैको नजर छ । आसन्न मंसिर ४ को निर्वाचन केन्द्रित दलहरुको घरदैलो चलिरहेका बेला यस निर्वाचन क्षेत्रमा राप्रपाले दरिलो उपस्थिति जनाएको देखिन्छ ।
०७४ मा खासै चर्चामा नआएको राप्रपा ०७० को निर्वाचनमा भने केही चर्चामा थियो । तत्कालिन निर्वाचन क्षेत्र नं. ५ मा गुरुप्रसाद रजौरिया दोस्रो संविधान सभाको उम्मेदवार थिए ।
रजौरियाले सम्मान जनक मत पाएका थिए ।
रजौरियाको निधन पश्चात ०७४ को निर्वाचनमा राप्रपाले खासै बलियो उपस्थिति जनाउन सकेन् । ०७९ को निर्वाचनमा भने राप्रपा सत्तारुढ दल, नेकपा एमाले र जनता प्रगतिशिल पार्टीका उम्मेदवारलाई टक्कर दिन सक्ने धेरैको आंकलन छ ।
राप्रपाले यस निर्वाचन क्षेत्रमा प्रकाश रजौरियालाई उम्मेदवार बनाएको छ । प्रकाश युवा नेता हुन् ।
गत बैशाख ३० मा सम्पन्न स्थानीय तहको चुनावमा शिवराज नगरपालिकाको नगर प्रमुख जितेको राप्रपा कृष्णनगर नगरपालिकामा दोस्रो स्थानमा आएको थियो ।
वियजनगर गाउँपालिकाको अध्यक्षमा दोस्रो भएका जानकी प्रसाद यादव राप्रपा प्रदेश गर्दै प्रदेश सभा ‘२’ का उम्मेदवार छन् ।
स्थानीय तहमा राप्रपाले पाएको लोकप्रिय मत, गठबन्धन भित्रको आन्तरिक किचलो र युवा नेता भएको कारण रजौरियाको पल्लाभारी हुन सक्ने चुनावी प्रक्षेपण छ । यद्यपि जित भने त्यति सजिलो छैन् ।
यहाँ नेपाली कांग्रेसका उम्मेदवार अभिषेक प्रताप शाह सदावहार जस्तै सांसदका रुपमा छन् । ०६४ देखिका हरेक चुनाव जित्दै आएका शाहलाई अहिले गठबन्धन दलको समर्थन छ । तर दलहरु भित्र आन्तरिक किचलो भएकाले शाह कमजोर हुन सक्ने कतिपयको विश्लेषण छ ।
स्थानीय तहमा दक्षिणमा पाएको मत राप्रपाले संरक्षण गर्न सके उत्तरबाट राम्रै मत पाउने विश्लेषण यहाँ छ । कांग्रेसका कतिपय मत रजौरियाले पाउने पक्का छ भने केही स्वतन्त्र र युवाका मत पनि उनले पाउन सक्छन् । यति यो भएको खण्डमा शाहलाई घाटा लाग्न सक्छ ।
स्थानीय तहको निर्वाचनमा देखिएको कांग्रेस भित्रको किचलो अझै साम्य भएको छैन् । शाह निरन्तर आन्तरिक एकता मजबुत बनाउन लागि परेका छन् । तर सफल हुन सकेका छैनन् ।
शाहका प्रतिद्धन्द्धी एमाले उम्मेदवार मंगल प्रसाद गुप्ता हुन् । गुप्ता ०७४ को निर्वाचनमा दोस्रो भएका थिए । हाल एमाले प्रवेश गरेका उनी बलिया प्रतिस्पर्धी हुन् । विजयनगरमा एमालेको राम्रो प्रभाव छ । यही प्रभाव निर्वाचनको दिनसम्म टिक्न सके नतिजा उनको पक्षमा आउन पनि सक्छ । कृष्णनगरमा कुणाल प्रताप शाहको समर्थनका कारण त्यहाँ पनि गुप्ता बलिया छन् ।
तर शिवराज नगरपालिकाका कतिपय एमालेका मत जनता प्रगतिशिल पार्टीका उम्मेदवार इश्वर दयाल मिश्रलाई जान सक्ने सम्भावना छ । यदि मिश्रले एमालेका मत काट्न सके गुप्ता कमजोर बन्नेछन् । मिश्र ०७४ मा एमालेको सूर्य चिह्न लिएर लडेका थिए । विगत देखि नै एमालेसंगको सम्बन्धले मिश्रले यो चुनावमा कतिपय मत पाउँन सक्ने आंकलन छ ।
कांग्रेस उम्मेदवार शाहका मत एमालेका गुप्ताले तान्ने स्थिति बनेको छ । शाह परिवार भित्रका प्रभावशाली नेता कुणाल प्रताप शाह एमालेमा खुलेरै लागेका छन् । अन्तिमसम्म कुणाल एमालेमा टिक्न सके अभिषेकलाई चुनावी नतिजामा ‘ब्रेक’ लाग्न सक्छ ।
यस क्षेत्रका मुस्लिम मतदाता अर्का निर्णायक शक्ति हुन् । उनीहरुको समर्थनले पनि चुनावी नतिजालाई थप प्रभावित पार्ने छ । तर यसपालि मुस्लिम मतहरु सबै तिर बाडिने सम्भावना छ । हरेक निर्वाचनमा मुस्लिम प्रति आक्रमक देखिने शाह यो निर्वाचनमा नरम मात्र देखिएका छैनन् विश्वासै लिने प्रयासमा छन् ।
चौपक्षिय प्रतिस्पर्धा जस्तो बनेको क्षेत्र नं. ४ मा ठूला दलले आफ्ना मतदाता आफू तिर पार्न नसके यसको फाइदा राप्रपाका उम्मेदवार रजौरियाले प्राप्त गर्नेछन् । राप्रपा प्रतिको पछिल्लो बढ्दो क्रेज छ भने उम्मेदवार स्वंय पनि क्षमतावान भएको मतदाताको ठहर छ ।
क्षेत्र नं. ३ मा पार्टी भन्दा व्यक्ति बलिया रहदै आएका छन् । यसले गर्दा पनि चुनावी परिणाम के हुन्छ भन्न सकिन्न । तर घरदैलोमा देखिएको लहर र चोक चौराहमा सुनिने विश्लेषणले राप्रपा अगाडी देखिन्छ । गत स्थानीय तहको चुनावमा शिवराज नगरपालिकामा राप्रपाले नसोचेको नतिजा ल्याएर विजयी भयो । त्यो निर्वाचनले ठूला दलका आंकलनलाई फेल गराएको थियो ।
प्रतिक्रिया