१२ मंसिर २०८१, बुधबार | Wed Nov 27 2024

डोलकलाई इतिहास रच्ने ‘अवसर’, विष्णुलाई विरासत जोगाउन ‘डर’



चन्द्रकान्त न्यौपाने, जितपुर ।

कपिलवस्तुको निर्वाचन क्षेत्र नम्बर १ (१) मा प्रदेश सभा सदस्य पदका उममेदवार हुन विष्णु पन्थी र डोलकराम घिमिरे । पन्थी नेकपा एमालेबाट उम्मेदवार छन् भने घिमिरे वाम-लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवार छन् ।

वि सं २०७४ सालमा वाम-गठबन्धनबाट लुम्बिनी प्रदेश सभामा ‘इन्ट्री’ मारेका पन्थीलाई अहिले कलिवस्तु उद्योग वाणिज्य संघका अध्यक्ष घिमिरेले टक्कर दिइरहेका छन् ।

दुवै जना जनताको मनमनमा बसेका स्वच्छ छविका नेता भएका कारण मतदातालाई पनि यसपाली यस क्षेत्रमा प्रदेश सांसद छान्न हम्यहमय हुने देखिन्छ । उनीहरु दुवै असल मित्र हुन् । यस्तो अवस्थामा ती दुई उम्मेदवारले के पाउने छन् अथवा गुमाउने छन् त ?

सुरुमा कुरा गरौँ घिमिरेको

वि. सं २०३६ सालको जनमत संग्रहबाट प्रभावित भई २०४६ सालदेखि काँग्रेसबाट राजनीति आरम्भ गरेका घिमिरे सधैँ सरल र सन्त नेताको रुपमा यस क्षेत्रमा चिनिन्छन् । उनी वाणगंगा नगरपालिका वडा नम्बर १ का स्थायी बासिन्दा हुन् । ४६ सालदेखि काँग्रेसको राजनीति गरेर उनी महासमिति सदस्य भए भने हरेक निर्वाचनमा महाधिवेशन प्रतिनिधि बने । यो बाहेक काँग्रेस हाँक्ने कुनै कार्यकारी अधिकार उनले पाएका छैनन् ।

समाजमा आइपर्ने स–साना समस्यामा उनी जहाँ पनि पुगिहाल्ने र मर्दा–पर्दा या कसैलाई केही समस्या पर्दा पुलिस प्रशासन, अड्डा अदालत धाउने गरेकै कारण उनी प्रदेश सभा सदस्य पदको उम्मेदवारसम्म पुगेका छन् । उनको उपस्थितिले टिकटको विषयले पार्टीमा हुने द्धन्द्धलाई पनि कम गराएको देखिन्छ ।

राजनीतिमा लागेर घिमिरेले खासै आर्थिक लाभ लिन सकेको देखिन्न । उनको ब्यवसायको रुपमा मात्र कवाडी खाना छ । घरको आर्थिक स्थिति पनि घिमिरेको मध्ययम नै छ । घिमिरेले अहिलेसम्म पाएको ठुलो पद भनेको कपिलवस्तु उद्योग वाणिज्य संघको अध्यक्ष हो । घिमिरे अहिले आठौँ अध्यक्ष छन् । उनको छविमा अहिलेसम्म कुनै पनि प्रकारको खोट देखिन्न । उनी सरल र सादगी नेताको रुपमा यस क्षेत्रमा स्थापित छन् ।

यस्तो ब्यक्तित्व बोकेका घिमिरेले अब जनप्रिय नेता विष्णु पन्थीलाई हराउन सक्छन् कि सक्दैनन् भन्ने कुरा जिज्ञासाको विषय छ । पन्थीलाई हराउन घिमिरलाई एकै दलबाट असम्भव नै हुने थियो तर अहिले गठबन्धनको साथ भएका कारण घिमिरेले जित्नेमा ढुक्क छन् । यदि २०७९ को चुनाव जितेको खण्डमा घिमिरेले इतिहास रच्ने छन् । त्यसपछि उनी अरु धेरै इतिहास रच्न अवसरमा पुग्ने छन् ।

घिमिरेले जित्दा पहिलो अवसर नेपाली काँग्रेसले पाउने छ र उसले २०७४ सालमा हारेको बदला लिने छ । त्यस जितले क्षेत्र नम्बर एकमा काँग्रेसको दबदबा बढ्ने छ । यसको साथमा नगरपालिका गुमाएको आलो घाउ पनि घिमिरेको जितले टालिने छ । प्रदेश सभामा यस क्षेत्रबाट पहिलोपटक डोलकराम पुग्ने छन् ।

प्रदेश जितेको खण्डमा घिमिरेले ब्यक्तिक तथा पारिवारिक जीवनमा पनि इतिहास रच्ने छन् । उनको परिवारबाट राजनीतिमा लागेर यस उपलब्धि नजिक पुग्ने अरु कोही पनि छैनन् । चुनाव जितेको खण्डमा घिमिरे रातारात माननीय व्यक्तिको रुपमा चिनिने अर्को इतिहास बन्ने छ ।

राजनैतिक पृष्ठभुमि लामो भए पनि उनी आम सर्वसाधारणमा लुकेका पात्र हुन् । कपिलवस्तु उद्योग वाणिज्य संघको अध्यक्ष नबन्दासम्म उनलाई सायदैले चिन्थे । तर त्यसपछि भने उनको परिचयको ग्राफ बढ्यो । पार्टीले घिमिरेलाई चुनावको टिकट दिन्छ भनेर कमैले सोँचेका थिए । तर उनले पाएरै छोडे । त्यस कारण राजनीतिमा एक्कासी सक्रिय भएर चाँडै प्रतिफल लिने नेताको इतिहास पनि घिमिरेले नै रच्ने छन् ।

एमालेका शक्तिशाली पन्थीलाई हराएमा घिमिरे साँसदमा मात्रै सिमित रहने छैनन्, सांसद बनेकै कार्यकालमा मन्त्री बनेर अर्को इतिहास रच्ने पात्र बन्ने छन् । २०७४ मा पन्थीले जिते पनि उनी मन्त्री बन्न पाएनन् । घिमिरे मन्त्री बने भने क्षेत्र नम्बर १ का पहिलो मन्त्री उनी हुनेछन् । काँग्रेसमा शेर बहादुर देउवाको लाइन समातेर घिमिरेले राजनैतिक फड्को मारे ।

अहिले काँग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणसंग घिमिरेको निकै राम्रो सम्बन्ध छ । चुनाव जितेको खण्डमा एमालेको सरकार बन्दा मुख्यमन्त्री या पावरफुल मन्त्रालय लिने ग्यारेन्टी बोकेका एमालेका पन्थीलाई हराएमा घिमिरेले साझै मन्त्रालय ताक्ने छन् ।

श्रोतका अनुसार चुनावमा जितको नतिजा आएमा घिमिरे मन्त्री बन्ने पक्का छ । किनकि गठबन्धनको नेतृत्वमा नै प्रदेश सरकार बन्ने छ । मतको आधारमा काँग्रेसको बाहुल्यता रहेको यस क्षेत्रमा गठबन्धन रहेका कारण घिमिरेले बाजी मार्ने आंकलन गरिएको छ । डोलकको इतिहास रच्ने यात्रामा अन्र्तघातको डर पनि उत्तिकै छ । यदि त्यो भएन भने डोलकरामले इतिहास रच्ने अवसर पाउने छन् ।

पन्थीमा विरासत गुम्छ कि भन्ने ‘डर

विष्णु पन्थी एमालेका निवर्तमान सांसद हुन् । उनको स्थायी घर बुटवल हो । स्थायी घर बुटवल भए पनि उनले अधिकांस समय भने कपिलवस्तुमा नै विताउने गरेका छन् । त्रिभुवन विश्व विद्यालबाट पाल्पाबाट अर्थ राजनीति विषयमा एम ए गरेका पन्थीको राजनैतिक जीवन यात्रा २०३६ सालको विद्यार्थी आन्दोलनबाट भएको थियो । त्यसपछि उनले छोटै समयमा राजनैतिक फड्को मारेको देखिन्छ ।

एमालेको भातृसंगठन अनेरास्ववियुमा बिभिन्न पदहरु हासिल गरी केन्द्रीय उपाध्यक्ष र कोषाअध्यक्ष सम्म बनेका पन्थी अहिले पार्टीको बिभिन्न जिम्मेवारीमा छन् । वि सं २०६९ सालको आठौँ महाधिवेशनबाट केन्द्रीय लेखा आयोगको सदस्य बनेका पन्थी २०७८ सालको महाधिवेशनबाट केन्द्रीय लेखा आयोगको उपाध्यक्ष बनेका छन् ।

वि सं २०५४ सालको स्थानीय निकायको चुनावमा जित हासिल गरी वाणगंगा गाविस वडा नम्बर ६ को वडा अध्यक्ष भएका थिए भने २०७४ सालमा यसै क्षेत्रबाट चुनाव जितेर सांसद बने । त्यसपछि उनी सार्वजनिक लेखा समितिको सभापति पनि बने ।

उनी आफ्नै मिहिनेत र बलले जनप्रिय बनेका एक मात्र नेता हुन् । उनी पनि विवादरहित र स्वच्छ छविका व्यक्तिका रुपमा चिनिन्छन् । बेला बेलामा पार्टीमा गुटको सिकार बन्दा उनी मन्त्री बन्ने अवसरबाट चुकेका छन् । पहिलोपटक सांसद बन्दा उनी एमालेको माधव नेपाल गुटमा थिए । त्यसैकारण शंकर पोख्रेल नेतृत्वको लुम्बिनी प्रदेश सरकारमा अर्थमन्त्री हुनबाट पन्थी बंचित भए । नेकपा विघटनसंगै एमाले पार्टी पनि ब्यूतियो । तर पनि एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाललाई पेलेर जाँदा नेपालले नेकपा एकिकृत समाजवादी पार्टी खोले । माधव नेपाल लाइनको पार्टी भए पनि पन्थी फुटमा लागेनन् संस्थापन एमालेतिरै लागे ।

त्यसपछि लुम्बिनी प्रदेश सरकार फेरियो । माओवादीको नेतृत्वमा सरकार बन्यो । त्यहाँ माधव पक्षको भए उनी मन्त्री बन्न सक्थे । तर गुट बदल्दा उनी फेरि मन्त्री बन्नबाट बंचित भए । पार्टीमा गुटको सिकार भएर ‘मन्त्री’ जस्तो अवसर गुमाएका पन्थीले भने आफ्नो लोकप्रियतालाई कमी हुन कहिल्यै दिएनन् । पार्टी संगठनको कामदेखि आम जनताको कामको लागि उनी जहिले पनि खटिइरहे । उनैको भाषामा उनले सांसद भएपछि आफ्नो क्षेत्रमा ९० प्रतिशत समय विताएका छन् ।

पार्टीमा किचलोकाबीच उनी एमालेलाई शक्तिशाली बनाउन लागि परे । एमाले विभक्त हुँदा पन्थी मात्रै नेकपा एसमा रहन सकेको भए लुम्बिनी प्रदेशमै सो पार्टी माथि पुग्न सक्थ्यो । यस्तो शक्ति संचय गर्न सफल पन्थीले एमालेभित्र एउटा विरासत नै जोगाएका छन् । सामाजिक संजालमा अति सक्रिय, पढेलेखेका र वैचारिक नेताको छवि बनाएका उनै पन्थीलाई मंसिर चारको चुनावमा विरासत जोगाउन हम्यहम्य हुने देखिएको छ ।

पन्थीलाई वाम लोकतान्त्रि गठबन्धनका उम्मेदवार डोलकराम घिमिरेले कडा टकर दिइरहेका छन् । सिंगल फाइटमा घिमिरे पन्थीलाई टक्कर दिन सक्ने पात्र होइनन् तर गठबन्धनको साथ भएका कारण घिमिरेले पन्थीको विरासत नै मेटाइदिने हुन् कि भन्ने चर्चा पनि बाहिर गर्ने गरेको देखिन्छ ।

बाहिर र सार्वजनिक भाषणमा आफूले शतप्रतिशत जित हासिल गर्ने दावी गर्दै आएका पन्थीको मनोविज्ञान भने डरमा बाँचेको हुनसक्ने विश्लेषण भइरहेको छ । गठबन्धनमा विमती र धोका नभएको खण्डमा घिमिरेले इतिहास रच्न सक्ने र पन्थीको दोश्रोपटक सांसद बन्ने सपनामा पूर्णविराम लाग्न सक्नेमा स्वयम् एमाले नेता नै चिन्तित छन् । उम्मेदवारी दर्तापछि आजसम्मको स्थितिलाई विश्लेषण गर्दा डोलकराम घिमिरे पनि कमजोर देखिन्न् । सादगी नेता घिमिरेले कतै आफूलाई हराउने हुन् कि भन्ने चिन्ता विष्णुमा देखिन्छ ।

हुन त डोलकराममा पनि गठबन्धन र पार्टीबाटै अन्र्तघात हुने हो कि भन्ने डर छ । यदि त्यसो भयो भने पन्थीले सजिलै प्रदेश सभामा दोश्रो पटक याता तय गर्ने छन् । होइन बाहिर चर्चामा आएको एमालेको एक गुट पन्थीलाई हराउने अभियानमा लाग्यो भने पन्थीको दोश्रो पटक सांसद बन्ने यात्रामा ब्रेक लाग्ने छ ।

यो भनेको पन्थीको सेलिब्रेटी छवि गुम्नु हो उनको विरासत नै डगमगिनु हो । यदि पन्थीले चुनाव हारे भने उनको राजनैतिक यात्रामा नै ठुलो संकट आउने छ । त्यसकारण पन्थी यसपटक जसरी पनि गठबन्धनका उम्मेदवार घिमिरेलाई हराउने र आफ्नो विरासत जोगाउने ध्याउन्नमा देखिन्छन् ।

प्रकाशित मिति : २७ कार्तिक २०७९ आइतबार ००:००  ४ : ४४ बजे