मायादेवी अनलाइन, बाणगंगा ।
कपिलवस्तु प्रतिनिधि सभा १ र प्रदेश सभा १ का उम्मेदवारहरुले विकासमा बाढी ल्याउने गरी आ-आफ्ना तर्क प्रस्तुत गरेका छन् ।
कपिलवस्तु जेसिजले शनिबार चारनम्बर चोकमा राखेको ककस कार्यक्रममा बोल्दै उम्मेदवारहरुले आफ्ना मतदाता सामु चुनावी एजेण्डा प्रस्तुत गरेका हुन् ।
कार्यक्रममा सबै जसो उम्मेदवारको प्रस्तुतिले यहाँ विकासमा बाढी आउने आभाष दिलाएको थियो ।
प्रतिनिधिसभाका ठूला, साना र स्वतन्त्र गरी ७ जना उम्मेदवारले १०/१० मिनेट र प्रदेश सभाका उम्मेदवारले ८/८ मिनेटका दरले आफ्ना चुनावी वाचा प्रस्तुत गरेका थिए ।
आयोजकले उपलब्ध गराएको उक्त समयमा उम्मेदवारहरुले चुनाव जिते पछि आफूले गर्ने कामको बेलिविस्तार प्रस्तुत गरेका हुन् ।
प्रस्तुत चुनावी प्रतिवद्धतामा देशलाई स्विजरल्याण्ड बनाउने देखि कृषिमा आमुल परिवर्तन, भौतिक विकासमा अपार क्रान्तिका नारा थिए ।
निशुल्क शिक्षा र स्वास्थ्यलाई पनि जोडदार ढंगले कुरा उठाएका उम्मेदवारहरुले निति निर्माणको तहसम्ममा आफूले गरेका कामबारे अवगत गराएका थिए ।
सत्ता गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार बनेका चक्रपाणी खनाल बलदेवले संविधानको मुल मर्म अनुसार विकासको काम गर्ने प्रतिवद्धता जनाए । संघीय सांसदको प्रमुख काम निति बनाउने रहेको भन्दै आफू यसभन्दा अगाडी सांसद हुँदै मन्त्री बन्दा थुप्रै दुरगामी महत्वका काम गरेको उल्लेख गरे ।
नेकपा एमालेका उम्मेदवार बलराम अधिकारीले एमाले सरकारमा हुँदा देखि आफू संविधानसभा सदस्य भएको बेला गरेका कामको बेलिविस्तार सुनाए । आसन्न चुनावमा अलिगढवामा भन्सार नाका खोल्ने देखि भारतीय सीमानाकासंग जोडिएको क्षेत्र हुँदै सिंगो कपिलवस्तु जोड्ने सडक निर्माणको योजना सुनाए ।
जनमत पार्टीका उम्मेदवार नरेन्द्र प्रसाद चौधरीले कृषिमा आमुल परिवर्तन गर्नुपर्नेमा जोड दिए । आफ्नो पार्टीले किसानका समस्यालाई लिएर विगतका दिनमा डेढ महिना बढी आन्दोलन गरेको उल्लेख गरे । देश विकासको बाधक भ्रष्ट्राचार भएको भन्दै यसलाई नियन्त्रणका लागि जनलोकपाल गठनसम्मको आवाज उठाए ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार ध्रुव बहादुर रायमाझीले कपिलवस्तु किन बनेन भन्दै प्रश्न गरे । अपार सम्भावना भएर पनि कपिलवस्तु १ को विकास नभएको भन्दै आफूसंग विकास गर्ने योजना रहेको सुनाए ।
यस्तै राष्ट्रिय जनमुक्ति पार्टीका उम्मेदवार उत्तम आले, मंगोल नेशनल अग्रनाइजेसनका उम्मेदवार उत्तम सिंह राना, हाम्रो नेपाली पार्टीका उम्मेदवार देवेन्द्र कुमार शर्माले पनि शिक्षा, स्वास्थ्य, निति निर्माणको तहसम्मका कुरा उठाएका थिए ।
प्रदेश सभा १ का एमाले उम्मेदवार विष्णु पन्थीले आफ्नो ५ बर्षे कार्यकालमा भए गरेका विकासको जानकारी गराए । झण्डै एक दर्जन खानेपानीको ओभरहेड ट्याङ्की निर्माण, १ सय किलोमिटर भन्दा बढी पक्की सडक, पुल पुलेसा, शिक्षालयका भवन निर्माण बारे उनले जानकारी गराएका थिए ।
सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका साझा उम्मेदवार डोलकराम घिमिरेले आफूले जिते भ्रष्ट्राचारको मुद्धा जोडतोडले उठाउने उद्घोष गरे । देशमा आर्थिक असमानता दैनिक बढिरहेको भन्दै देशका उच्च तहका कर्मचारी, नेता सबैको सम्पत्ति छानविनको आवाज उठाउने उनले बताए ।
विकासको प्रश्नमा सबैको साथ र सहयोगबाट मात्र सम्भव भएको बताए । विकास कुरामा मात्र नभई देखिने गरी हुनु पर्नेमा उनले जोड दिए । दक्षिणी भेगमा अझै पनि विकास पुग्न नसकेको उनले बताए ।
प्रतिक्रिया